Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकमिसनको चक्करमा मनपरी ढंगले मलखादको बिक्री वितरण

कमिसनको चक्करमा मनपरी ढंगले मलखादको बिक्री वितरण


सन्तोष पौडेल
वीरगन्ज, जेठ २२
वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख गोविन्द पराजुलीले कमिसनको चक्करमा मनपरी ढंगले मलखाद्यको बिक्री वितरण गर्ने गरेको पाइएको छ ।कम्पनीको प्रादेशिक कार्यालयका हाकिम पराजुलीले स्टोर किप्पर पुरुषोत्तम सिंहसँग मिलेर जताबाट धेरै कमिसन पाइन्छ त्यतैतिर बढी परिमाणमा युरिया, पोटास, डीएपीलगायतका मलखाद्य सामग्री बिक्रीवितरण गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक खरिदकर्ताले बताए । हरेक खरिदकर्ताबाट बिक्री मूल्यको कम्तीमा ५ देखि बढीमा ३० प्रतिशतसम्म कमिसनमा यो चलखेल भइरहेको स्रोतले जनाएको छ ।

वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड मातहातका १६ ठाउँमा रहेका कार्यालयलाई खाद्य सामग्री बिक्री गर्ने गर्छ । पर्सामा भने कार्यालयले सिधै आफैं बिक्रीवितरण गर्नेगरेको छ । १६ ठाउँमध्ये प्रमुख पराजुलीको मिलोमतोमा केही ठाउँमा मात्र अधिक मात्रमा खाद्य सामग्री पठाउने गरिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार हाकिम पराजुलीले कमिसनको चक्करमा भरतपुर, जनकपुर, त्रिशुली, धुलिखेललगायतका ठाउँका कार्यालयमा मात्र खाद्य सामग्री धमाधम पठाइरहेका छन् ।

कार्यालयले दिएको तथ्यांकअनुसार गत चैत महिनामा दुई सय ८१ मेट्रिक टन मात्र खाद्य सामग्री बिक्री गरिएको भरतपुरस्थित कार्यालयलाई वैशाख महिनामा एक हजार चार सय ६१ मेट्रिक टन खाद्य सामग्री बेचिएको छ । त्यस्तै, दुई सय ४६ दशमलव ५ मेट्रिक टन खरिद गरेको जनकपुरको कार्यालयले वैशाख महिनामा सबैभन्दा धेरै एक हजार चाठ सय ६ं० मेट्रिन टन खाद्य सामग्री खरिद गरेको छ ।

यसैगरी, कार्यालयको तथ्यांकअनुसार चैत महिनामा एक सय ६८ मेट्रिक टन मात्र बिक्री गरिएको त्रिशुलीस्थित कार्यालयलाई वैशाख महिनामा एक हजार छ सय १६ मेट्रिक टन खाद्य सामग्री बिक्री गरिएको छ । यस्तै, ढल्केवरस्थित कार्यालयले चैत महिनामा ६३ र वैशाख महिनामा नौ सय ४० मेट्रिन टन, धुलिखेलस्थित कार्यालयले चैतमा छ सय १९ र वैशाखमा एक हजार तीन सय २६ मेट्रिक टन खरिद गरेको देखिएको छ । उल्लेखित सबै कार्यालयले चैतको तुलनामा वैशाखमा बढी मात्रामा खाद्य सामग्री खरिद गरेको पाइएको छ ।

चैतमा १७ मेट्रिक मात्र बिक्री गरिएको कावासोतीको कार्यालयलाई वैशाखमा तीन सय २३ मेट्रिन टन खाद्य बिक्री गरिएको छ । चैत महिनामा पाँच सय ४७ दशमलव २५ मेट्रिक टन खाद्य पाएको कलैयास्थित कार्यालयले भने वैशाख महिनामा तीन सय ९७ दशमलव ५५ मेट्रिक टन मात्र पाएको छ । पर्सामा दुई सय १५ दशमलव २० मेट्रिक टन चैतमा र वैशाखमा एक हजार आठ सय २० दशमलव १५ मेट्रिक टन बिक्री भएको छ । कार्यालयको तथ्यांकलाई केलाउँदा श्रोतले दाबी गरेअनुसार नै चलखेल भएको देखिन्छ ।

कार्यालय प्रमुख पराजुलीले भने जहाँ खपत बढी हुन्छ त्यही बढी दिएको बताए । कलैयालगायतका भेगमा पहिलेकै स्टक रहेकोले त्यस क्षेत्रमा नपठाएको उनको भनाइ छ । मल राख्ने गोदामको अभावले पनि खाद्य सामग्री नपठाएको उनको भनाइ छ । तर कलैयास्थित कार्यालय प्रमुख सिताराम श्रेष्ठका अनुसार पुरानो स्टक नरहेको बताए । १५ सय मेट्रिक टन क्षमता भएको गोदाममा अहिले माग भन्दा धेरै कम मात्रामा स्टक रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले ४÷५ सय बोरा मात्र स्टक छ, जसमा युरिया २६ शमलव ५०, डिएभी चार सय ५५ दशमलव ६५ र पोटास ४१ दशमलव ६ मेट्रिक टन मौज्दात छ, यो पहिलाको मौज्दात होइन ।’ स्रोतका अनुसार वीरगञ्जको रामगढवास्थित गोदाममा ३० हजार बोरा र चिनीको गोदाममा १० देखि १५ गाडी खाद्य सामग्री स्टकमा लुकाएर राखिएको छ । यता, मलको अभाव सिर्जना गर्दै कमिसनमा चक्कर जताबाट धेरै कमिसन आउँछ त्यतैतिर धमाधम मल बिक्री भइरहेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x