Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि२१औँ राष्ट्रिय धान दिवस: जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

२१औँ राष्ट्रिय धान दिवस: जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् । चिनवनमा आयोजना गरिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकतामा रहेको बताए ।

पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै उनले जलवायुमैत्री प्रविधिको अवलम्बन गरेर उत्पादन वृद्धि गर्ने दाबी गरे । जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने सरकारको रणनीति रहेको उनको भनाइ थियो । कृषि क्षेत्रको व्यवसायीकरण र विविधीकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उनले बताए ।

प्रधानमन्त्री दाहालले जलवायुमैत्री प्रविधिको प्रयोगले उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै, उनले हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको जोखिम उच्च रहेका राष्ट्रमध्ये नेपाल भएको उल्लेख गर्दै जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको बताए । जलवायु परिवर्तनका कारण सिर्जित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनैपर्ने उनको भनाइ थियो ।

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे । परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उनले बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीककरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् । सरकारले उत्पादनमा जोड दिँदै उत्पादन र बजारीकरणका लागि काम गर्ने उनको भनाइ थियो । धान रोप्नका लागि आवश्यक पर्ने मल पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागि परेको उनले बताइन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गरिने बताए । प्रदेशले एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको जानकारी दिए ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले प्रविधिको प्रयोग गरेर कृषि कर्म गर्दा उत्पादन बढाउन र लागत घटनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यीय कृषक समूह रत्ननगरले संयुक्तरुपमा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रम आयोजना गरेको थियो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ यो वर्षको धान दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x