Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना सम्पन्न

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना सम्पन्न


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको छ वर्षे कार्यकाल सम्पन्न भएको छ ।

राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो परियोजनाको कार्यक्रम काल सम्पन्न भएको घोषणा गरिएको हो । आयोजनाबाट दुई लाख ३७ हजारभन्दा बढी कृषकहरू लाभान्वित भएका थिए । साथै, ४२ प्रतिशत महिला सहभागिताको अनुपात रहेको र १४ सय कृषि उत्पादक संस्था प्रत्यक्ष लाभान्वित भएको आयोजना निर्देशक बैकुण्ठ अधिकारी जानकारी दिए । यो परियोजनाले दूध, खसीबोकाको मासु प्रशोधन र साना किसान तथा कृषि व्यवसायीको उत्पादकत्व तथा मूल्यमा वृद्धि, जलवायु परिवर्तन अनुकूलन हुने क्षमता अभिवृद्धिका लागि पाँच प्रदेशका २८ जिल्ला तथा दुई ८९ पालिकामा काम गरेको छ । साथै, यो परियोजनाले संस्थागत र नियामक क्षमता सबलीकरण समेत सहयोग गर्नुका साथै पशु सेवा क्षेत्रको आधुनिकीकरण र नश्ल सुधार कार्यक्रम देशैभर सञ्चालनमा ल्याएको उनले बताए ।

उनका अनुसार यो परियोजनाले राष्ट्रिय पशु स्वास्थ्य नीति—२०७८ र राष्ट्रिय पशु प्रजनन् नीति—२०७८ को स्वरूप निर्माणमा सहयोग गरेको छ, जुन संसद्बाट पारित भइसकेको छ । साथै, सङ्क्रामक पशुरोग नियन्त्रण ऐन र पशु कल्याण ऐन समेत तयारी अवस्थामा छ । पशुसेवा क्षेत्रमा नवीनता प्रवर्द्धन तथा सेवा प्रवाहमा आधुनिकीकरण ल्याउने उद्देश्यअन्तर्गत यो परियोजनाले खोरेत तथा पीपीआर रोगबाट हुने पशु मृत्युको दर घटाउनमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाईएको छ । पछिल्लो चार वर्ष २०१८–२२ कोे अवधिमा पशुमा खोरेत रोगको संक्रमण ६३ प्रतिशत र पीपीआर ८८ प्रतिशतसम्म घट्न गएको अन्वेषणले देखाएको छ ।

परियोजनाले पशुपन्छी रोग रोकथाम तथा नियन्त्रणका लागि खोप भण्डारण गर्ने शीत शृङ्खला निर्माण गर्दै दीर्घकालीन प्रभाव पर्ने कामको थालनी समेत गरेको छ । यसबाट आयोजना क्षेत्रबाहेक पनि देशभरका सातैवटा प्रदेशमा मागअनुसार ५० लाख डोज भ्याक्सिन सङ्ग्रहित गर्न सक्ने गरी भण्डारण गृह सञ्चालनमा ल्याइसकेको छ । ‘यो परियोजनाको कार्यकाल टुङ्गिए पनि दीर्घकालीनरूपमा फाइदा पुग्ने गरी सबै प्रदेशमा खोप भण्डारण गर्ने र पशु स्वास्थ्यका अलावा कोभिड–१९ जस्तो संक्रमण आइपर्दा आपत्कालीन सेवा उपयोग गर्न सकिने सहयोगी संयन्त्र समेत तयार भएको छ’, आयोजना निर्देशक बैकुण्ठ अधिकारीले भनेका छन् ।

यसैगरी, परियोजनाअन्तर्गत पशु नश्ल सुधार प्रयोजनमा अमेरिकाबाट ल्याइएको साँढे गोरुले एक लाख डोज वीर्य उत्पादन गरेको छ । यस आयोजनाले नश्ल सुधारका लागि राष्ट्रिय पशु प्रजनन् कार्यालयहरूको क्षमता अभिवृद्धि गरेको छ । यसले पशु प्रजनन् प्रक्रियामा गुणस्तर विकास गर्न सहयोग गर्नुका साथै, दूध उत्पादनमा समेत सकारात्मक नतिजा ल्याउने देखिएको छ । यो परियोजनाले समावेशी मूल्य विकासअन्तर्गत पूरक सहयोगमा स्थापना गरिएका चार सय ४६ व्यवसायहरू सञ्चालनमा ल्याएका छन्, जसले दूध, खसी बोकाको मासु र पश्मिना उत्पादन तथा प्रशोधनमा मद्दत गर्ने देखिन्छ । यो परियोजना सञ्चालनमा विशिष्ट मोडालिटी तय गर्दै कृषकले २० प्रतिशत लगानी गरेपछि थप ३० प्रतिशत कुनै वित्तीय संस्थाबाट ऋण लिन सकिने र त्यसमा परियोजनाले थप ५० प्रतिशत रकम थप्ने प्रावधान कार्यान्वयन गरिएको थियो । परियोजनाको सहयोगमा नेपालमा पहिलोपटक पश्मिना प्रशोधनको सुविधा विस्तार भएको जनाइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x