Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदोलखामा ३४ प्रतिशत धान रोपाइँ

दोलखामा ३४ प्रतिशत धान रोपाइँ


दोलखा । जिल्लामा यस वर्ष ३४ प्रतिशत मात्रै रोपाइँ भएको छ । यस वर्ष समयमा नै पर्याप्त मात्रामा पानी नपर्दा किसानहरूले समयमा नै धान रोपाइँ गर्न नपाएको बताएका छन् । धान खेतीयोग्य जमिनमा हाल किसानहरू धान रोपाइँमा व्यस्त रहेका छन् । गत वर्ष असार तेस्रो सातासम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो तर यस वर्ष भने सिँचाइ अभाव तथा समयमै वर्षा नहुँदा जिल्लाभर ३४ दशमलव चार प्रतिशत खेतमा मात्रै रोपाइँ भएको पाइएको हो । जिल्लाको मुख्य धान खेती हुने मेलुङ गाउँपालिकामा हालसम्म ४४ दशमलव प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि अधिकृत नन्दराज ओलीले बताए ।

अधिकृत ओलीका अनुसार दोस्रो बढी धान खेती हुने भीमेश्वर नगरपालिका ४५ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, वैतेश्वर गाउँपालिकामा ३० प्रतिशत, कालिञ्चोक गाउँपालिकामा ३३ प्रतिशत, तामाकोशी गाउँपालिका सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ सकिएको हो । त्यसैगरी कम धान खेती हुने जिरी नगरपालिकामा ५० प्रतिशत, गौरीशंकर गाउँपालिकामा २५ प्रतिशत र शैलुङ गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको अधिकृत ओलीले बताए । खेती लगाउने समय ढल्किन लाग्दा समेत प्राप्त मात्रमा रोपाइँको लागि पानी नपर्दा रोपाइँ प्रभावित बनेको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले बताए । किसानले धानको ब्याड राखेको एक/डेढ महिना बितिसक्दा पनि पानी नपर्दा रोपाइँ गर्न ढिलाइ भएको हो ।

दोलखामा धेरैजसो खेतमा रोपाइँ गर्न आकाशे वर्षाको भर पर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण जिल्लाका किसानहरूले समयमा धान रोप्न पाएका छैनन् । तामाकोशी गाउँपालिकाका अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आए पनि धेरैले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ । खेत छेउछाउका खोलानाला, कुवा खोल्सी तथा पानीका मुहान पानी नबर्दा र खोला खोल्सी र मुहानमा पानी नबर्दा कम रोपाइँ भएको हो । समयमै धान रोपाइँ नहुँदा यस वर्ष जिल्ला धान उत्पादन घट्ने हो कि भन्ने चिन्तामा किसान रहेका छन् । दोलखामा यस वर्ष दुई हजार आठ सय १४ हेक्टर भूभागमा धान खेती हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x