Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषिमा निजी क्षेत्रको लगानीलाई आकर्षित गरिने

कृषिमा निजी क्षेत्रको लगानीलाई आकर्षित गरिने


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निजी क्षेत्रको लगानीलाई कृषिमा आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको छैठौँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले कृषि उत्पादनमा बढाउन निजी लगानी बढाउनुपर्नेमा जोड दिए । मुलुकमा बढ्दो कृषि आयात न्यूनीकरण गर्न कृषि क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिकरूपमा वृद्धि गर्ने प्रतिबद्धता समेत जनाए । यस्तै, उनले हरेक नेपालीले साँझ बिहान खानका लागि कृषि उपज बेसाउन नपर्ने अवधारणासहित कृषि दशक कार्यक्रम सुरु गरिएको बताए । सरकारले कृषि दशकलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, आवश्यक लगानी जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका बैंक तथा विभिन्न वित्तीय संस्थासँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको संरक्षणका लागि नीतिगत सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । कृषि क्षेत्रमा गरिने लगानीले कृषि उत्पादन वृद्धि भई किसानको बढ्ने आम्दानीले ग्रामीण अर्थ व्यवस्थालाई गतिशील बनाउने उनको भनाइ थियो । त्यस्तै उनले, रैथाने खाद्यान्नको प्रवद्र्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनले कृषिमैत्री कार्यक्रम कार्यान्वयन गरी कृषि उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकायको आवश्यकता समेत औँल्याए । कृषि सचिव राजेन्द्रप्रसाद मिश्रले स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्न सकेमा त्यसले पुँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताए । कम्पनीका अध्यक्ष सीताराम काफ्ले, किसान आयोगका सदस्य पुष्पा भुसाललगायतले मुलुकको सामाजिक तथा आर्थिकरूपान्तरणका लागि कृषि क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले विसं २०८१ देखि २०९१ सम्मको समयलाई कृषि दशकका रूपमा घोषणा गरेको छ । सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरूप सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कार्यक्रममा कार्यत्रपत्र समेत प्रस्तुत गरिएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x