Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो


म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’

घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मा मात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए । ‘उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्’, उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुलनामा केही समयअघि पाक्ने देखिएको छ ।’

उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्नयोग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तीजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x