Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री

दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री


दोलखा । पछिल्ला वर्षहरूमा हिमाली जिल्ला दोलखा आलु उत्पादनको हिसाबले प्रमुखको रूपमा चिनिन थालेको छ । यहाँ रहेका नौ वटै पालिकाको माथिल्लो क्षेत्रमा आलु खेती हुने गरेको छ । मुख्यगरी जिरी, शैलुङ, मेलुङ, गौरीशंकर, विगु र वैतेश्वरमा अन्य पालिकाको तुलनामा धेरै आलु खेती हुने गरेको हो ।

जिल्लाबाट वार्षिक ७५ करोड रुपैयाँ बढीको आलु बिक्री हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । जिल्लाको शैलुङ गाउँपालिकाबाट मात्रै वार्षिक ३५ करोड रुपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको छ । पालिकाको वडा नम्बर–१,२,३,६ र ८ अत्यधिक आलु खेती हुने गरेको शैलुङ गाउँपालिकाकी कृषि प्राविधिक गंगामाया जिरेलले जानकारी दिइन । उनका अनुसार यहाँका एक किसानले आलु बिक्रीबाट सिजनमा १२ लाखसम्म आम्दानी गर्ने गरेका छन् । शैलुङ–३ का किसान पूर्णबहादुर खड्काले १० हेक्टरमा लगाएको आलुबाट यस वर्ष १२ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

शैलुङ गाउँपालिकाको झोर, मनगाउँ, ढुङेलगायत क्षेत्रबाट करोडौंको आलु उत्पादन हुने गरेको छ । कृषि प्राविधिक जिरेलका अनुसार मुख्यगरी शैलुङका पाँच वटा वडामा धेरै आलु खेती हुने गर्छ । यहाँबाट कम्तीमा ३५ करोड बराबरको आलु बिक्री हुने गरेको उनले सुनाइन् । दोस्रो बढी आलु खेती तथा उत्पादन हुने जिरी नगरपालिकाको विभिन्न वडाबाट वार्षिक १० करोड रुपैयाँ बढीको आलु उत्पादन तथा बिक्री हुने गरेको छ । जिरी नगरपालिकाको प्रायः सबै वडामा आलु खेती हुने गरेको छ । जिरीको ढुङ्गे, भण्डार, बुलडाँडा, सिक्री, ठूलोपालत, लिङ्कन, माली श्यामा, खावालगायतका स्थानमा आलु खेती हुने गरेको स्थानीय आलु व्यवसायी डिबी श्रेष्ठले बताए । ठेकेदारको रूपमा किसानबाट आलु उठाउँदै आएका श्रेष्ठले यस वर्ष आफूले मात्रै चार करोड रुपैयाँ बराबरको आलु काठमाडौं र तराई पठाएको बताए । श्रेष्ठले जिरी बुलडाँडाबाट मात्रै २२ हजार केजी आलु काठमाडौं पठाएको बताए । यहाँ उत्पादन भएको आलु बिक्री वितरणका लागि राजधानी र तराई लैजाने गरिएको छ ।

त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाबाट पनि वार्षिक सात करोड हाराहारीमा आलु उत्पादन तथा बिक्री हुँदै आएको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले बताए । मेलुङको वडा नम्बर–३ र ५ का अधिकांश भुगोलमा आलु खेती हुँदै आएको छ । यहाँ सामान्य आलु उत्पादन गर्ने किसानले दुईदेखि चार लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् । मेलुङ–३ का स्थानीय आलु किसान सुब्बा खड्काले वार्षिक आठ लाखको आलु बिक्री गर्ने गरेको बताए । गत वर्ष उनले सात लाखको आलु बिक्री गरेका थिए । मुख्यतया मेलुङको भेडपु, डाडाखर्क, घ्याङको माथिल्लो क्षेत्र, फुर्केसल्लालगायतका क्षेत्रमा आलु उत्पादन हुने गरेको छ ।

आलु उत्पादनको हिसाबले मध्यम पालिका मानिने जिल्लाको वैतेश्वर गाउँपालिकाबाट पनि वार्षिक पाँच करोड रुपैयाँ बढीको आलु बिक्री हुने गरेको छ । पालिकाको वडा नम्बर–१, ४ र ८ मा आलु उत्पादन हुने गरेको छ । पालिकाको वडा नम्बर–८ को यवो गाउँबाट मात्रै यस वर्ष साढे दुई करोड आलु बिक्री भएको स्थानीय कृषक टीकाबहादुर खत्रीले जानकारी दिए । त्यसैगरी वडा नम्बर–४ ठूलोवन, सिमचौर र फाप्लुबाट एक करोडमाथिको आलु मुडे र काठमाडौं बिक्री गरिएको स्थानीय किसान कुमार कार्कीले बताए । त्यसैगरी वडा नम्बर–१ गैरमुदी पोखरीबाट पनि झण्डै दुई करोड बराबरको आलु उत्पादन भएको किसानहरूको भनाइ छ ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रका तीन पालिकाहरू गौरीशंकर, बिगु र कालिञ्चोकको उच्च क्षेत्रबाट पनि वार्षिक १०/१२ करोडको आलु उत्पादन हुने गरेको छ । यहाँका उच्च भेगका स्थानीय किसानहरू हाल आलु खन्न तथा आलु बिक्री गर्नमा व्यस्त छन् । गत पुस माघमा रोपेको आलु यतिबेला खन्ने बेला भएको हो ।

आलुको मुल्यमा वृद्धि : दोलखा उत्पादन भएको आलुको मुल्य पनि वृद्धि भएको छ । गत वर्ष प्रतिकेजी सरदर मूल्य ३५/४५ रुपैयाँ आलुको मुल्य यस वर्ष बढेर ५५ रुपैयाँसम्म पुगेको वैतेश्वर गाउँपालिका–८ का वडाध्यक्ष शान्त बहादुर जिरेलले बताए । ‘गत वर्ष यवोबाट ठेकेदारले प्रतिकेजी ३०/३५ रुपैयाँ मात्रै दिएर आलु लाने गरेका थिए । तर यस वर्ष आलु प्रतिकेजी ४५/५५ रुपैयाँमा लागिरहेका छन्’, उनले भने । यस वर्ष आलुको मूल्यमा सामान्य वृद्धि भएको आलु व्यवसायीहरू बताउँछन् ।

समग्रमा जिल्लाभर आलुको मूल्य प्रतिकेजी ५० रुपैयाँ भन्दामाथि रहेको जिरीका आलु व्यवसायी श्रेष्ठले बताए । उनले प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा किसानको बारीबाट नै आलु उठाउने गरेको बताए । यहाँका किसानले नयाँदेखि पुरानो जातको आलु लगाउने गरेका छन् । रोजिटा, खुम्बल लक्ष्मी, एम एम–४२ लगायत स्थानीय जातको आलु यहाँ लगाउने गरिन्छ । हाल जिल्लाको तीनहजार ८९ हेक्टर क्षेत्रमा आलु खेती हुँदै आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x