Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशमा हुने कृषि एक्स्पोको तयारी पूरा

कोशी प्रदेशमा हुने कृषि एक्स्पोको तयारी पूरा


विराटनगर । कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी बिहीबारदेखि आइतबारसम्म कृषि थोक बजार कटहरीमा हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो ।

कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाइभन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको वृद्धि, बजारीकरण, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले एक्स्पोको आयोजना गरेको हो । सो एक्स्पोमा नवीनतम् कृषि औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपन्छी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनारलगायतका कार्यक्रम हुने महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

यस्तै, प्रदर्शनीमा नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, बजार तथा व्यापारका अवसरहरू, पशुपन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्सासम्मको अनुभव तथा फुड फेस्टिबल एव जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको समेत व्यवस्था गरिएको छ । एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरी विभिन्न समितिहरू गठन गरिएको अध्यक्ष राउतले बताए । त्यसैगरी एक्स्पो हुने स्थानमा जम्मा पाँच वटा ब्लक छुट्याइएको छ । पशुपन्छी, कृषि, मेसिनरी, फुड स्टल र गोष्ठी तथा परामर्श सेवा गरी ब्लक छुट्याइएको अध्यक्ष राउतले जानकारी दिए । एक्स्पोमा करिब एक सय ३० वटा स्टल रहनेछन् । यसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने उनले बताए ।

एक्स्पो अवधिभर कृषि, पशुपन्छी, कस्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधिलगायतका विषयमा नेपाल तथा भारतका विज्ञबाट महासंघले संवाद कार्यक्रम राखिएको छ । कृषि व्यवसायीबीच बीटुबी कार्यक्रमदेखि एक्स्पोमा काठमाडौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम समेत छन् । लोकसेवाको तयारीमा रहेका परीक्षार्थीका लागि यो अत्यन्तै उपयोगी हुने अध्यक्ष राउतले बताए । एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरू, कृषि ज्ञान केन्द्र, एक सय ३७ वटा स्थानीय तह, कृषक, कृषि व्यवसायी, सहकारी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुने बताइएको छ ।

साथै, एक्स्पोको उद्घाटन कार्यक्रममा भारत, बिहार राज्यका कृषिमन्त्री, कृषि विभाग र बीज विभागका विज्ञहरूको पनि सहभागिता रहने निश्चित भएको छ । कृषि एक्स्पो अवलोकनमा आउनेहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सो प्रदर्शनीलाई प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, स्विस सरकार विकास सहयोग एसडीसी, नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाले सहयोग गरेका छन् । एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहोरा ग्रुप, कृषि विकास बैंक र मुक्तिनाथ कृषि विकास कम्पनी लिमिटेड रहेका छन् । एक्स्पोको सहप्रायोजकमा एनएमबी बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिका रहेको छ ।


क्याटेगोरी : सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x