सहकारीपीडितद्वारा रित्तो थाल बोकेर सडकमा धर्ना
गण्डकी । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि महिनौँदेखि पीडामा रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।
बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको उनले जानकारी दिएका छन् । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु. एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भने ।
प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उनले जानकारी दिए । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
सभापति लामिछाने यही कात्तिक २ गते पक्राउ परेका थिए । उनी माथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
गत असोज ६ गते उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।
राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि, गण्डकी प्रदेश
ताजा अपडेट
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
- इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया