Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिब्राइट सहकारीद्वारा एम्बुलेन्स चालकसहित स्वास्थ्यकर्मीलाई सम्मान

ब्राइट सहकारीद्वारा एम्बुलेन्स चालकसहित स्वास्थ्यकर्मीलाई सम्मान


काठमाडौं, भदौ १५
काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ को महामारीका अग्रपंक्तिमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफैँ संक्रमित भएका नर्ससहित एम्बुलेन्स चालक, नर्स, ल्याब प्राविधिक र डाक्टर गरी आधा दर्जन स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरेको हो ।

उनीहरुलाई जनही २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम, महासंघका सञ्चालक डीबी बस्नेत, केम्सनका अध्यक्ष सुरेश घिमिरेलगायतले सम्मान प्रदान गरेका थिए ।

यसरी सम्मानित हुनेहरुमा शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा. अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाल रहेका छन् ।

स्वास्थ्यकर्मीले गाली खानुपर्ने, डेरामा बस्न नदिने, खेद्नेलगायतका गतिविधि भएका कारण देशभरि रहेका सहकारीले समाजमा देखिएको यो विसंगतिलाई चिर्नका लागि सांकेतिक रुपमा सम्मान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामेन्द्र न्यौपानेले बताए । केशव बडालले ठूलो लडाइँका बेला सैनिकको महत्व भएजस्तै यो महामारीको समयमा स्वास्थ्यकर्मीको महत्व रहेकाले उनीहरुको सुरक्षामा सहकारी अग्रपंक्तिमा उभिने बताए ।

डा. गौतमले यस्तो महत्वपूर्ण र दूरगामी सकारात्मक सन्देश दिने यस्तो कार्यक्रमको आयोजना गरेर सहकारीले दिन खोजेको सन्देशले स्वास्थ्यकर्मीको मनोबल उच्च भएको बताए । संस्थाका सचिव लक्ष्मण न्यौपानेले स्वास्थ्यकर्मीसंग नजिक रहेर निरन्तर कोभिड १९ विरुद्ध सहयोग जुटाइरहने प्रतिबद्धता व्यक्त गरे ।

सम्मानित डाक्टर अनुप बाँस्तोलाले भने, ‘बिरामीको उपचार लागेका हामीलाई समाजको व्यवहारले मन दुःखित भएको बेलामा यो कार्यक्रमले उत्साह थपेको छ । सहकारीकर्मीलाई धन्यवाद ।’ संस्थाले आफ्नो २१औँ वार्षिक उत्सवको अवसर पारेर भौतिक दूरी कायम राखी सीमित व्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीको सम्मान गरेको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x