Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकाठमाडौंमा केन्द्रीय सहकारी बजार सुरु

काठमाडौंमा केन्द्रीय सहकारी बजार सुरु


काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडीपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले केन्द्रिय सहकारी बजार सुरु गरेको छ । सहकारी बजारको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उद्घाटन गरेकी छिन् ।

कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले करिब सवा करोड रुपैयाँको लागतमा चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजार औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । खुद्रा बजारमा ताजा तरकारी तथा फलफूल सुपथ मूल्यमा पाइनेछ । सरकारको सहयोगमा निर्माण भएको यो पहिलो सहकारी बजार हो । मन्त्रालयकै सहयोगमा ललितपुरमा सहकारी बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । बजारमा केही दिनमा थोक बिक्री कक्षसमेत खोल्न लागिएको जनाइएको छ । लिमिटेडमामा देशका विभिन्न भागका एक सय ९३ वटा कृषि बीउ, तरकारी तथा फलफूल सहकारी आबद्ध छन् ।

केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामग्रीहरूको बजारीकरण आजको आवश्यकता भएको बताइन् । अहिले उत्पादनको समस्या नरहेको भन्दै उनले उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौतीको रूपमा रहेको जानकारी दिइन् । ‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो’, उनले भनिन्, ‘सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ति यो कार्यक्रमको सञ्चालन गरिएको हो । यसलाई देशव्यापी बनाउन आवश्यक छ ।’

किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । ‘किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन । किसानहरूलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ’, उनले भनिन् । यस्ता बजारहरू सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरूले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाइ थियो । ‘सहकारीसँग प्रशस्त पैसा छ । उनीहरूसँग पैसाको कमी छैन ।

सहकारीबाट उत्पादित सामग्रीहरूको बजार व्यवस्थापनका निम्ति बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरूले पनि लगानी गर्नुपर्छ’, उनले भनिन् । किसानहरूले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा विचमा रहेका बिचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरूको मर्का सम्बोधन गर्नका निम्ति पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन् ।

सहकारी बजारले बढीभन्दा बढी अर्गानिक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परिक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको बताइन् । बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरू मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यावसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने बताइन् ।

कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघको अध्यक्षमा पराजुली कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीका अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ ।

हाल २० केन्द्रीय संघमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ । एकीकरण भएपछि शुक्रबार सुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । संघको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा गोपा बीएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन् भने संघको सात जना सचिवमा हरिप्रसाद प्याकुरेल, संगीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन् । सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरूपमा संयोजन गर्नेगरी जिम्मेवारी तोकिनेछ । संघको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसंखे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया