Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसुन्तला उत्पादनमा कमी

सुन्तला उत्पादनमा कमी


गुल्मी ।
गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका डिलाराम मरासिनी मंसिर लागेपछि बारीमा फलेको सुन्तला बेच्न निकै व्यस्त हुन्थे । सुन्तला बेचेरै राम्रो आम्दानी गर्दै आएका मरासिनी यस वर्ष सुन्तला उत्पादन घट्दा दुःखी छन् । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका थम्मनबहादुर भण्डारी यस वर्ष सुन्तला खेतीबाट असन्तुष्ट छन् । सुन्तलाको सिजन सकिएपछि पनि लामो समयसम्म बजारमा सुन्तला बेच्दै आएका भण्डारीको यसपालि अनुहारमा खुसी छैन । निकै गुलियो र राम्रो दाना भएकाले प्रशस्त बजार पाउँदै आएको सुन्तलाको उत्पादन घट्दा कृषकलाई कारोनापछिको अर्को धक्का लागेको छ ।

सुन्तला बेचेर गुजारा तथा छोराछोरी पढाउँदै आएका कृषकलाई उत्पादन घटेपछि आफूहरू निरास भएको गुल्मीका कृषकले बताउँदै आएका छन् । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७४।०७५ मा मन्त्रीस्तरीय निर्णयबाट गुल्मी जिल्लामा सुन्तलाजात जोन व्यावसायिकीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत सुन्ताला जोन स्थापना भएको थियो । गुल्मीमा सुन्तला जोन घोषणा भए पनि विगतका वर्षमा भन्दा यस वर्ष तुलनात्मकरूपमा उत्पादन घट्ने कृषक बताउँछन् । यस वर्ष सुन्तलाको बोटमा फूल तथा दाना लाग्ने समयमा बढी मात्रमा वर्षा भएका कारण सुन्तला उत्पादन कम भएको कृषकको भनाइ छ ।

सुन्तलाको बोटमा फलेको सुन्तला रोगका कारण खस्ने, यो वर्ष सुन्तलाको दाना सानो भएको कृषकले गुनासो गर्छन् । सुन्तला खेतीबाट जीविकोपार्जन तथा छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका गुल्मीका कृषक यस वर्ष निराश छन् । गुल्मीमा उत्पादन भएको सुन्तला तम्घास, पाल्पा, बुटवल, काठमाडौंलगायतका सहरमा निर्यात हुने गर्दछ । कृषकको घरबाटै ८० रूपैयाँमा बिक्री गर्दै आएका छन् ।

कृषकलाई उत्साहित गर्ने रेसुङ्गा नगरपालिकाले बिरुवा वितरण गरे पनि यस वर्ष गुल्मीमा कम सुन्तला उत्पादन हुने रेसुङ्गा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थम्मनबहादुर केसीले बताए । वडा अध्यक्ष केसी भन्छन्– ‘भाडगाउँ सुन्तलाको पकेट क्षेत्र हो तर अविरल वर्षाका कारण फलेन सकेन ।’ जिल्लाका आठवटा पालिकामा सुन्तला जोन कार्यक्रम लागू भएको छ भने आठ पालिकाका २४ वडामा सञ्चालन भएको छ । सुन्तलाजात जोनमा कृषक समूह तथा सहकारी गरी एक सय ७४ जना आबद्ध छन् ।

गत वर्ष जिल्लाका स्थानीय तह कालीगण्डकी गाउँपालिकामा ७३ हेक्टर, गुल्मीदरबार गाउँपालिकामा ९४ हेक्टर, चन्द्रकोट गाउँपालिकामा ७३ हेक्टर, छत्रकोट गाउँपालिकामा एक सय २४ हेक्टर, धुर्कोट गाउँपालिकामा दुई सय ७८ हेक्टर, मदाने गाउँपालिकामा ६१ हेक्टर, मुसिकोट नगरपालिका ५३ हेक्टर, रेसुङ्गा नगरपालिका एक सय ३२ हेक्टर क्षेत्रफलमा गरी जिल्लामा आठ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

सुन्तलाजात फलफूल जोनको तथ्यांकअनुसार चार सय दुई दशमलव ७९ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा गत वर्ष सात हजार २२ दशमलव ७९ मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ, गुल्मी जनाएको छ । कृषकले घटेको गुनासो गरे पनि यस वर्षको उत्पादन तथ्यांक लिन कर्मचारीहरू फिल्ड खटिएको कार्यलयका कृषि अधिकृत सुमन खनालले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया