दोलखामा अलैँचीको मूल्य ५० प्रतिशतले वृद्धि, उत्पादन भने २० प्रतिशतले घट्यो
दोलखा । केही वर्षअघि कालो सुनको रूपमा लिइने अत्यधिक माग र भाउ रहेको अलैँचीको मूल्य बीचमा केही समय ओरोलो लागेको थियो । मूल्य ओरालो लागेको पाँच वर्षपछि फेरि दोलखामा अलैँचीको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ ।
गतवर्ष दोलखाका किसानले प्रतिकेजी पाँच सय रूपैयाँमा अलैँची बिक्री गरेका थिए । यस वर्ष भने छिमेकी देश भारत र बंगलादेशमा नेपालमा उत्पादन हुने अलैँचीको माग बढेकाले अलैँचीको मूल्य ५० प्रतिशत वृद्धि भएर प्रतिकेजी एक हजार पुगेको छ । गत वर्ष न्यून मूल्यमा अलैँची बिक्री गरेका जिल्लाका किसान यस वर्ष भने मूल्यवृद्धि भएपछि थप राहत मिलेको बताउँछन् । अलैँची खेती र उत्पादन बढी हुने जिल्लाको बैतेश्वर गाउँपालिकाको मिर्गे जैनालुको सिङ्गो गाउँका किसानले वर्षौँदेखि अलैँची खेती गर्दै आएका छन् ।
जैनालु गाउँका प्रत्येक किसानले वर्षमा अलैँचीबाटै ४० हजारदेखि चार लाख रूपैयाँसम्म कमाउने गर्छन् । गाउँमा विगत सात वर्षदेखि अलैँची खेती गर्ने किसान शंकर तामाङले यस वर्ष दुई सय केजी अलैँची निकालेर बेच्ने तयारी गरिरहेका छन् । गत वर्ष कम मूल्यमा दुई सय ५० केजी अलैँची बिक्री गरेका उनले यस वर्ष अलैँचीको बगनमा रोग लागेका कारण उत्पादन घटेको बताए । पाँच वर्षपछि भाउ बढे पनि यस वर्ष जिल्लामा अलैँचीको उत्पादन घटेको किसानहरू बताउँछन् । तामाङले अघिल्लो वर्ष एक लाख २५ हजार रूपैयाँको अलैँची बिक्री गरेका थिए । अहिले अलैँचीको उत्पादन घटे पनि मूल्यवृद्धि भएकाले दुई लाख रूपैयाँको अलैँची बिक्री गर्ने उनले बताए ।
जैनालु गाउँका किसानलाई यो समय अलैँची काट्न र अलैँची सुकाउन भ्याइनभ्याइ छ । गाउँमा रहेकोे दुईटा अलैँची भट्टीमा दैनिक एक सय केजी अलैँची लिएर किसान सुकाउन पुग्ने गरेको स्थानीय अलैँची किसान दिनेश तामाङले जानकारी दिए । तामाङले गत वर्ष तीन सय केजी अलैँची उत्पादन गरेका थिए । यस वर्ष भने अलैँचीको बिरुवामा डरुवा रोग लागेर धेरै अलैँचीको बोट सुकेको हुँदा २० प्रतिशत उत्पादन घटेको उनले बताए । उनले यस वर्ष तीन लाख रूपैयाँबराबरको अलैँची बिक्री गर्ने बताए ।
गत वर्ष अलैँची बिक्री नसकेका मिर्गेका केही किसानलाई भने यसवर्ष अलैँची बिक्री गर्न मूल्य र माग बढेकाले सहज भएको किसान श्याम तामाङले बताए । अघिल्लो वर्ष बिक्री नभएको २० केजी अलैँची र यस वर्ष उत्पादन भएको ७० केजी अलैँची बिक्री गरी करिब एक लाख रूपैयाँ आम्दानी गर्ने दाउमा रहेका तामाङ यो समय अलैँची सुकाउन व्यस्त देखिन्छन् ।
दोलखाको मिर्गेबाट मात्रै ५० लाखबराबरको अलैँची उत्पादन हुँदै आएको छ । मिर्गेको जैनालु, कुलाफाट, माजगाउँ, मजुवा, यार्सा, पाइले, चिलाउने खर्कलगायतका बस्तीका सयौँ किसानले अलैँची खेती गर्दै आएको बैतेश्वर गाउँपालिका मिर्गेका अलैँची व्यवसायी राजु तामाङले जानकारी दिए । एक महिनाको अवधिमा मिर्गेबाट दुई हजार पाँच सय केजी अलैँची झापा जिल्लामा ढुवानी भएको व्यवसायी तामाङले बताए । दोलखाबाट वार्षिक २० करोड रूपैयाँबराबरको अलैँची भारत, बंगलादेशलगायतका छिमेकी मुलुकमा खपत हुँदै आएको छ ।
रोगको पहिचान नहुँदा घट्दै अलैँची खेती : अलैँचीमा लाग्ने रोगको पहिचान हुन नसक्दा समग्र जिल्लामा अलैँचीको उत्पादन २० प्रतिशतले घटेको पाइएको छ । अलैँची भाउ र उत्पादन घट्दै गएको भन्दै कतिपय अलैँची किनासले अलैँची बगान मासेर पुरानै खेती गर्न थालेका छन् ।
अलैँचीमा विभिन्न रोग लागेर मर्दा र उत्पादन घट्दा समेत सम्बन्धित निकाय तथा कृषिज्ञान केन्द्र रामेछापले रोग रोकथाम गर्न कुनै चासो नदिएको किसानहरूको गुनासो रहेको छ । पाँच वर्षअघि लगाएको अलैँचीका बिरुवा धमाधम उत्पादन दिने बेलामा सुकेर मर्न थालेको किसान गोरी तामाङले बताइन् । सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत रोग नियन्त्रण गर्न कुनै प्राविधिकसमेत गाउँमा नआएको दर्जनौँ किसानको गुनासो रहेको छ ।
किसानले लगाएको अलैँचीको बोटमा जेठ सुरु भएपछि पात सुक्ने, बोट मर्ने, पहेँलो हुनेलगायतको समस्या देखापर्ने गरेकाले जिल्लामा अलैँचीको उत्पादन घट्दै गएको हो । कतिपय किसान डरुवा रोगले पनि अलैँची मर्ने गरेको बताउछन् । समयमै सम्बन्धित निकायले अलैँचीमा लाग्ने रोगको पहिचान गरेर रोग रोकथाम नलागे दोलखामा अलैँची खेती नै मासिँदै जाने स्थानीय जानकारहरू बताउँछन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया