Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिशैलुङको ‘रेड किबी’ काठमाडौंमा

शैलुङको ‘रेड किबी’ काठमाडौंमा


दोलखा । जिल्लाको शैलुङ गाउँपालिकामा उत्पादित रेड किबी फल दशैँअगावै काठमाडौंका बजारमा पु-याउन थालिएको छ । शैलुङ गाउँपालिका–४ का किबी उत्पादक कृषकहरूले पहिलो चरणमा किबी फल काठमाडौंको बजारमा पठाउने तयारीमा जुटेका हुन् ।

किबीको व्यावसायिक खेती गर्दै आएका यहाँका नवीन कार्कीले चाडपर्वको समयमा किबीको स्वाद काठमाडौंका उपभोक्तालाई चखाउनका लागि राजधानी लैजाने तयारी गरिरहेको जानकारी दिए । उनले दशैँअघि दोलखाको शैलुङ उत्पादित पाँच सय केजी रेड किबी लैजाने बताए । किबी उत्पादनको हिसाबले अब्बल मानिने शैलुङ गाउँपालिकामा रेड जातको किबीको पनि उत्पादन हुन थालेको छ । लगाएको छोटो समयमै उत्पादन दिने रेड किबीको माग पछिल्लो समय बढ्दै गएको किसानहरूले बताएका छन् । यहाँका किसानहरूले अन्य जातको किबीजस्तै गरी पछिल्ला वर्षहरूमा रेड जातको किबीको पनि व्यावसायिक खेती गरेका छन् । शैलुङको रेड किवीले जिल्लाका स्थानीय बजार भरिएका छन् । जिल्लासँगै काठमाडौंका फलफूल बजारमा समेत यसको माग वृद्धि भएकाले दशैँअगावै किबी काठमाडौंमा लैजान सुरु गरेको किसानहरूको भनाइ छ ।

यहाँका कृषक नवीन कार्कीले पछिल्लो तीन वर्षदेखि व्यावसायिकरूपमा ५० रोपनी क्षेत्रफलमा किबीखेती गर्दै आएका छन् । अहिले उनको किबी फार्ममा छ सय बोट रेड किबी छ । गत वर्ष दुई सय केजी रेड किबी बिक्री गरेका कार्कीले यसवर्ष भने पाँच सय केजी रेड किबी उत्पादन गरेको बताए । जिल्लामा प्रतिकेजी तीन सय ५० रूपैयाँमा बिक्री हुने किबी काठमाडौंमा भने प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने उनको भनाइ छ । करिब ३० लाख लगानीमा सुरु गरेको किबी खेतीबाट भर्खरै आम्दानी लिन सुरु गरेको उनले बताए ।

शैलुङमा उत्पादन हुने विभिन्न छ जातको किबी अब अफसिजनमा पनि पाइने उनले बताए । कार्कीले अफसिजनमा पनि किबी स्टोर गरेर राख्न कोलस्टोर निर्माण गरेका छन् । माघ महिनापछिको अफसिजनको समयमा पनि शैलुङ उत्पादित रेड, हे–वार्ड, मोन्टी, बु्रनोलगायत जातको किबी शैलुङमा पाइने उनले बताए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x