काठमाडौँ,नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा सहभागी हुन खुलामञ्च आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ ।यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए । कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।