पर्वत, बाढीपहिरोबाट पर्वतमा तीन सय परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोबाट क्षति भएको छ । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा ठूलो क्षति पुगेको छ भने ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए ।
बाढीपहिरोले पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था र प्रहरी चौकीमा समेत क्षति पुर्याएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ ।जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने क्षेत्रीले बताए ।
बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय तह तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ तथा स्वास्थ्य उपचार सामग्री उपलब्ध गराएका छन् ।