काठमाडौं, —‘वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पालमा व्यवस्थापन यति कमजोर हुन्छ तथा खाना पकाउने ग्यास नपाएर विद्यार्थी भोकै बस्नुपर्ने अवस्था आउँछ र धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुन्छ भनेर कल्पना पनि गरेको थिइनँ’, स्नातक अध्ययन गर्दै गरेका रुपेशले भने ।
—‘एक सिलिन्डर ग्यास किन्न आम नागरिकले यति धेरै सास्ती पाउँछन् भन्ने सोचेको पनि थिइनँ’, यातायात व्यवस्था कार्यालय चावहिलको कार्यालय नजिकै धोबिखोला किनारमा रहेको एक ग्यास बिक्री केन्द्रमा भेटिएकी कल्पना सुनुवारले मंगलबार आर्थिक दैनिकसित भनिन् ।
काठमाडौंमा मात्र होइन तराईका जिल्लामा पनि अहिले खाना पकाउने ग्यासको अभाव आम उपभोक्ताले झेलिरहेका छन् । काम गरेर खानुपर्ने वर्ग अहिले ग्यासको सिलिन्डर बोकेर दौडिन बाध्य छ । तर, पनि ग्यास पाउन सकिरहेको छैन ।
काठमाडौंमा त खाना पकाउने ग्यासको चरम अभाव नै छ । मंगलबार काठमाडौंका अधिकांश ग्यास बिक्री डिपोहरूमा उपभोक्ताको लामो लाइन लागेको थियो । लाइनले देखाउँछ ग्यासको अभाव कस्तो छ भन्ने । नियमित ग्यास आपूर्ति गरिरहेका कतिपय ग्यास डिपोहरूले उपभोक्ताको फोन नै रिसिभ गर्न छाडेका छन् । गोंगबुका एक ग्यास डिपोका कर्मचारीले आर्थिक संवाददातासँगको भेटमा भने, ‘ग्यास छैन, किन फोन उठाउनु ?’
भारतबाट ग्यास ल्याएर बिक्री गर्ने र ग्यास ल्याउन अनुमतिपत्र जारी गर्न नेतृत्वदायी भूमिका खेल्ने नेपाल आयल निगमको भनाइ मान्ने हो भने ग्यास अभाव छैन । तर, बजारमा लाइनले देखाउँछ खाना पकाउने ग्यासको चरम अभाव छ । ग्यास भएर पनि व्यवस्थापन गर्न नसक्नु सरकारको व्यवस्थापनको अभाव हो । ग्यास छ भने सरकारले व्यवस्थापन सुधार गरेर सहज रूपमा बिक्री गर्नुपर्ने थियो । ग्यास छैन भने सत्य बोलेको भए हुने थियो । तर, सरकार सत्य बोल्न सकिरहेको छैन ।
एक सय दिनसम्म चुप लागेर बसेका आम नागरिक अहिले बालेन नेतृत्वको सरकारको कार्यशैलीप्रति वाक्कदिक्क भइसकेका छन् । न त प्रधानमन्त्री बालेन सांसदहरूका कुरा सुनेर जवाफ दिन्छन् न त जनताकै कुरा प्रत्यक्ष रूपमा सुन्छन् ? उनी आफ्नो एउटा झुण्डसँग रमाउने र बेलाबेलामा फेसबुक स्टाटस लेखेर तरङ्ग ल्याउने काम मात्र गर्छन् । सामाजिक सञ्जाल फेसबुकमा तर्क र भनाइ राख्नछन् तर काम भने केही हुँदैन । आर्थिक उन्नतिमा लाग्नुपर्ने हातहरू अहिले खाना पकाउने ग्यास सिलिन्डर बोकेर यता र उता भौतारिन बाध्य छन् । यो अवस्थाले सरकार जनताका न्यूनतम आभारभूत आवश्यकता पूर्ति गर्न समेत सक्षम छैन भन्ने प्रस्ट पारेको छ ।
पुराना दलहरूले व्यवस्थापन गर्न सकेनन् भनेर वाक्क भएका जनताले चुनावपछि बालेन प्रधानमन्त्री बन्ने घोषणा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेपछि मत उतै दिए । अधिकांश निर्वाचन क्षेत्रमा बालेनको नाम लिँदै जनाताले मतदान गरे । तर, परिणाम यस्तो देखिएको छ कि, बालेन सरकार जनताको काम होइन आफ्नो झुण्डको काम मात्र गर्छन् र उनीहरूसँगै रमाउँछन् ।
बजारमा धानखेतीको लागि चाहिने रासायनिक मलको त्यस्तै अभाव छ । कतिपय ठाउँमा भएको मल पनि लैजान सकेको छैन भने अधिकांश ठाउँमा जनताले चाहेको जति मल नै छैन । मल, ग्यास मात्र होइन राहदानी पाउन पनि नागरिकले त्यस्तै सास्ती भोग्नु परेको छ । सरकारले पेट्रोलियम पदार्थअन्तर्गतको डिजेल, मट्टितेल, पेट्रोल तथा हवाई इन्धनमा पनि नागरिकरलाई सहुलियत दिन सकेको छैन । यसले बजारमा दैनिक उपभोग्य वस्तुको समेत चरम मूल्य वृद्धि भएको छ । यदि बालेनल महानगरको मेयर भएको बेलामा उठाएको कुरा अहिले प्रधानमन्त्री भएको बेला सम्बोधन गरेको भए मात्र जनताले ठूलो राहत पाउँथे । उल्टै, शिक्षा र स्वास्थ्यमा कर लगाएर आलोचित भएपछि पछि हट्न परेको थियो । बिजुलीमा लगाएको भ्याटले पनि जनतालाई थप आक्रोशित पारेपछि त्यसलाई व्यवस्थापनको बाटोमा सरकारले कोसिस गरिरहेको छ ।
बालेन नेतृत्वको सरकारको व्यवस्थापनको कमजोरीको कारण सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका तीन जना युवाको मंगलबारसम्म निधन भइसकेको छ । यदी सरकारको व्यवस्थापन राम्रो थियो भने देवानगञ्जमा मात्र होइन सिरहामा पनि आन्दोलनमा गोली लागेर युवाको मृत्यु हुने थिएन । युवाको बलमा बनेको सरकारले युवालाई नै गोली ठोकेर भुटुटु मारिरहेको छ । पहिलाको सरकारले युवालाई मा¥यो भन्ने बालेन सरकारले अहिले पनि युवा नै मारिरहेको छ । युवाको कम्बरमाथि ताकीताकी गोली हानिएको छ । अझै दर्जनौँ घाइतेहरू अस्पतालमा छटपटाइरहेका छन् । तर, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ मस्ती गरेर हिँडिरहेका छन् ।
गत भदौ २३ र २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आन्दोलनकारीलाई गोली हान्ने आदेश दिएको प्रमाण कतै भेटिएको छैन तर गत चैत १३ गते राति उनीहरूलाई युवालाई गोली हानेर मारेको आरोपमा पक्राउ गरियो । त्यतिबेला सरकारको व्यवस्थापन कमजोर भएर आन्दोलनकारीहरू प्रहरीको गोलीबाट मारिएका थिए । अहिले पनि सरकारको व्यवस्थापनको कमजोरीकै कारण प्रहरीको गोलीबाट युवाहरूको भकाभक ज्यान गएको हो । तर, उस्तै प्रकृतिको घटनामा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन हिंडिरहेका छन् ।
सरकारको व्यवस्थापन यति कमजोर छ कि अब सेनाको संरक्षणमा रहेको गोकर्णको जंगलमा पनि सांसद्को नेतृत्वमा डोजर लगाएर पर्खाल भत्काउने काम भएको छ । त्यो पनि बालेनकै पूर्वप्रहरी प्रमुख काठमाडौं क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डे । पाण्डे बालेन काठमाडौंको मेयर भएको बेला महानगरको प्रहरीका प्रमुख थिए । उनले बालेनकै नाम लिएर जता पनि लफडा मच्चाउँदै आएका छन् ।
बजारमा आम उपभोक्ताको चुल्लोसँग सम्बन्धित ग्यास अभाव भएपछि मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गर्दै ग्यास अभाव नरहेको जनायो । तर, ग्यास भएर पनि उपभोक्ताले नपाउनु सरकारको व्यवस्थापनको कमजोरी हो । यस्ता कमजोरी सबै क्षेत्रमा छन् तर सरकार सुल्झाउनेतर्फ लागेको छैन । यसले जनतामा चरम निराशा छाउँदै गएको छ ।