काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र रसियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड दिएको छ ।
नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभसँग भएको भेटमा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सहकार्यलाई विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । रसियाली बजारमा नेपाली वस्तुको निर्यात विस्तार तथा नेपालको जलविद्युत्, पर्यटन, पूर्वाधार र प्रविधिमा रसियाली लगानी भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले दुई देशबीचको व्यापारको वर्तमान आकार अपेक्षाकृत सानो रहेकाले निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक र व्यापारिक अवसरको पहिचानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । महासंघ र रसियन फेडेरेसनको च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच सन् २०११ मा भएको सहकार्यलाई पुनः सक्रिय गर्दै निकट भविष्यमा बिजनेस फोरम वा बिजनेस काउन्सिलको बैठक आयोजना गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले बताए ।
नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभले नेपाल र रसियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यमा थप प्रभावकारी रूपमा रूपान्तरण गर्न रसिया सकारात्मक रहेको बताए । नेपालले आर्थिक विकास र समृद्धिका लागि अघि सारेका प्राथमिकतामा रसियाली पक्षबाट सहयोग र सहकार्यलाई थप विस्तार गर्न सकिने उनको भनाई थियो । दुई देशका निजी क्षेत्रबीचको सम्पर्क र व्यावसायिक संवाद बढाउन पनि प्रयास गर्ने उनले बताए ।
छलफलमा पर्यटनलाई आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने, भौगोलिक दूरी, ढुवानी लागत र भुक्तानी प्रणालीका व्यावहारिक जटिलता समाधानका लागि सरकारी तथा निजी क्षेत्रबीच निरन्तर संवादमा जोड दिएइको थियो ।