नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि हुन लागेको यो पहिलो नियमित १५औँ महाधिवेशन भएकाले यसको महत्व स्वाभाविक रूपमा ठूलो छ । यही असोज १८ गतेदेखि चार दिनसम्म हुने महाधिवेशनले कांग्रेसलाई कस्तो दिशामा अघि बढाउँछ भन्ने कुरा निर्धारित गरिन्छ ।
सभापति गगन थापाले कांग्रेस अब ‘लास र दासको संस्था हुने छैन’ भन्दै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने सन्देश दिनुभएको थियो । तर काठमाडौं क्षेत्र नं. ७ को अधिवेशन प्रक्रियालाई नजिकबाट ‘अध्ययन तथा अवलोकन’ गर्दा त्यो नयाँ राजनीतिक संस्कार व्यवहारमा कति स्थापित भयो भन्ने गम्भीर प्रश्न उठेको छ ।
समूह र उपसमूहको प्रभावः काठमाडौं क्षेत्र नं. ७ को अधिवेशनमा समूह र उपसमूहको प्रभाव, ठूलो नेता–सानो नेता भन्ने पुरानै मानसिकता तथा आन्तरिक शक्ति सन्तुलनको अभ्यास अझै बलियो देखिएको गुनासो सुनिएको छ । यदि यस्तो प्रवृत्ति कायम रह्यो भने सभापति गगन थापाले पार्टीभित्रैबाट चुनौती सामना गर्नुपर्ने हुन सक्छ । सभापतिले मात्रै सबै कुरा बदल्न सक्ने अवस्था हुँदैन । संगठनको प्रत्येक तहमा नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार स्थापित हुन आवश्यक छ ।
निश्चित व्यक्तिहरूलाई जिताउने अभ्यासः निर्वाचनअघि नै निश्चित व्यक्तिहरूलाई जिताउनुपर्ने भन्दै गोप्य रूपमा नामावली वितरण गरिएको र त्यससँग मिल्दोजुल्दो परिणाम आएको भन्ने चर्चा कार्यकर्ता माझ सुनिएको छ । यदि यस्तो अभ्यास भएको हो भने यसबारे पार्टीभित्र गम्भीर समीक्षा र स्पष्टता आवश्यक छ । खुला प्रतिस्पर्धा, योग्यताको सम्मान र प्रतिनिधिको स्वतन्त्र निर्णय नै लोकतान्त्रिक संगठनको आधार हो । निर्वाचनलाई पूर्वनिर्धारित समीकरण बाट प्रभावित पार्ने संस्कार स्थापित भयो भने त्यसले संगठन भित्रको विश्वास कमजोर बनाउन सक्छ ।
अझ महत्वपूर्ण कुरा, गगन थापाले अघि सारेको नयाँ सोच र परिवर्तनको अवधारणासँग आफूलाई जोडेर स्वार्थभन्दा माथि उठेर काम गर्न खोज्ने व्यक्तिहरू यस्ता समीकरणका कारण प्रारम्भिक चरणमै बाहिरिन पुगे भने त्यसको असर अन्ततः पार्टीले नै भोग्नुपर्ने हुन्छ ।
हार–जित स्वाभाविक तर संस्कार महत्वपूर्णः निर्वाचनमा हार–जित स्वाभाविक हो । तर गुटगत व्यवस्थापन, व्यक्तिगत प्रभाव वा पूर्वनिर्धारित समीकरणबाट जित हासिल गर्ने संस्कार बलियो भयो भने त्यस्ता व्यक्तिहरू माथिल्लो तहमा पुगेपछि पार्टीलाई नयाँ दिशामा लैजान कति योगदान गर्न सक्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
पार्टी बलियो बनाउने उद्देश्य केवल आफ्नो समूह बलियो बनाउनु होइन । कमजोर क्षेत्र र एकाइलाई कसरी सुदृढ बनाउने, नयाँ कार्यकर्तालाई कसरी अवसर दिने र संगठनलाई कसरी सबैको साझा संस्था बनाउने भन्ने मूल प्रश्न हो ।
क्षेत्रीय सन्तुलन र प्रतिनिधित्वः काठमाडौं क्षेत्र नं. ७ का १० वटा एकाइमध्ये तुलनात्मक रूपमा कमजोर मानिएको वडा नं. १८ बाट महाधिवेशन प्रतिनिधि नै जित्न नसक्नु क्षेत्रीय सन्तुलनको दृष्टिले पनि समीक्षा गर्नुपर्ने विषय हो । कुन एकाइबाट कति प्रतिनिधि निर्वाचित भए, प्रतिनिधित्वको अवस्था कस्तो रह्यो र कुन तहमा कस्तो प्रभाव देखियो भन्ने कुरा निर्वाचन परिणामले धेरै कुरा स्पष्ट पार्न सक्छ ।
त्यसैगरी पार्टीभित्र विभिन्न समुदायको समानुपातिक, न्यायोचित र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर संगठन निर्माण र प्रतिनिधित्वको सन्तुलन कायम गर्न कांग्रेसले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
अधिवेशन व्यवस्थापन र जिम्मेवारीः क्षेत्र नं. ७ को क्षेत्रीय अधिवेशन पटक–पटक सारिनुका कारण र त्यसको व्यवस्थापनबारे पनि प्रश्न उठेका छन् । क्षेत्रीय निर्वाचन व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहेका व्यक्ति देशबाहिर रहेको कारण देखाएर निर्वाचन सारिनु कति उचित थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । महाधिवेशनको मिति पहिल्यै निश्चित भएको अवस्थामा जिम्मेवारी र प्राथमिकता निर्धारणमा थप संवेदनशीलता आवश्यक थियो कि थिएन भन्ने विषयमा पनि समीक्षा हुनुपर्छ । सम्बन्धित व्यक्तिको अनुपस्थिति का बाबजुद पनि निर्वाचन सम्पन्न गरी क्षेत्रीय तथा सामुदायिक सन्तुलन कायम गर्न सकिएको भए संगठनमा अझ सकारात्मक सन्देश जान सक्थ्यो ।
एकाइ तहमा बाह्य हस्तक्षेपः एकाइ तहमै वडा बाहिरका केन्द्रीय नेता लगायत अन्य नेताहरूको हस्तक्षेप भएको गुनासो पनि सुनिएको छ । नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो पद, पहुँच र प्रभाव कहाँ, कसरी र कुन सीमासम्म प्रयोग गर्ने भन्ने विषयमा संवेदनशील हुन आवश्यक छ । बाह्य हस्तक्षेपका कारण एकाइ भित्र मतभेद र गुट–उपगुट बढ्ने अवस्था आयो भने त्यसको दीर्घकालीन असर संगठनमा पर्न सक्छ ।
क्रियाशील सदस्यता र प्रतिनिधि चयनमा पारदर्शिताः क्रियाशील सदस्यता वितरण र प्रतिनिधि चयनको विषयमा पनि पारदर्शिता आवश्यक छ । केवल आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो बनाउन सदस्यता वितरण गरिएको हो कि होइन भन्ने प्रश्न उठ्ने अवस्था सिर्जना हुनु आफैंमा पार्टी नेतृत्वका लागि गम्भीर संकेत हो ।
एउटै परिवारका धेरै सदस्य प्रतिनिधिका रूपमा समावेश भएको विषयसमेत कार्यकर्तामाझ प्रश्नको विषय बनेको छ । यस्ता विषयमा वास्तविकता र प्रक्रिया पारदर्शी रूपमा स्पष्ट गरिनु आवश्यक छ । काठमाडौं क्षेत्र नं. ७ मा देखिएका यी अनुभवहरूलाई एउटा क्षेत्रको मात्र समस्या भनेर पन्छाउनु गलत हुनेछ ।
सेरबहादुर देउवा पक्षसँगको अर्को चुनौतीः विशेष महाधिवेशनको निर्णयसँग असहमत रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्ष अहिले कानुनी र राजनीतिक दुवै मोर्चामा अघि बढिरहेको छ । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रियामा रहेकै अवस्थामा देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ र असोज १ गतेदेखि वडा अधिवेशन समेत सुरु गरिसकेको र मंसिरमा आफ्नो महाधिवेशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
यस अवस्थाले नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित नभए पनि व्यवहारमा समानान्तर संगठन र दुईवटा महाधिवेशनको अवस्थातर्फ गएको देखिन्छ ।
देउवा पक्षको रणनीति अहिले मूलतः कानुनी प्रक्रियाको परिणामको प्रतीक्षा गर्दै संगठनात्मक रूपमा आफ्नो आधार कायम राख्ने दिशामा देखिन्छ । यसको अन्तिम उद्देश्य कानुनी बाटोबाट आफ्नो दाबी स्थापित गर्नु हो वा परिस्थितिले पार्टीभित्र गहिरो विभाजन निम्त्याउने हो भन्ने निष्कर्षमा भने अहिले नै पुग्नुभन्दा आगामी घटनाक्रम हेर्नु उचित हुन्छ ।
अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेसका लागि पनि यो महत्वपूर्ण चुनौती हो । देउवा पक्षमा रहेका केही वरिष्ठ नेता तथा कार्यकर्ता गगन नेतृत्वको प्रक्रियामा समाहित भएका छन् । सार्वजनिक रूपमा देखिएको यो पुनर्संरचनालाई पार्टी एकता र समायोजनको प्रयासका रूपमा बुझ्न सकिन्छ । तर, यसका आन्तरिक राजनीतिक उद्देश्य र आगामी शक्ति सन्तुलनमा पर्ने प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्नु हतार हुनेछ ।
अझ रोचक पक्ष के छ भने, गगन नेतृत्वको अधिवेशनमा पराजित भएका केही नेता तथा कार्यकर्ता आफूले भनेको पद नपाएर पुनः देउवा पक्ष तिर फर्केको र फर्किन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । अधिवेशन पछि देखिने व्यक्तिगत राजनीतिक सम्बन्ध, नेतृत्वसँगको समायोजन, अवसर र आगामी शक्ति सन्तुलनले यस्तो आवतजावत लाई प्रभावित गर्न सक्छ ।
त्यसैले अहिले कांग्रेसभित्र देखिएको ध्रुवीकरण लाई स्थायी विभाजनका रूपमा होइन, नेतृत्व, वैधानिकता र संगठनात्मक पुनर्संरचना बीच चलिरहेको संक्रमणकालीन राजनीतिक प्रक्रियाका रूपमा हेर्नु बढी उपयुक्त हुन्छ ।
गगन थापाको नेतृत्वका लागि एउटा महत्वपूर्ण प्रश्न उठ्छ—कांग्रेसलाई साँच्चिकै ‘नयाँ कांग्रेस’ बनाउने हो भने पुरानो गुटगत राजनीतिक संस्कारलाई कसरी अन्त्य गर्ने ?
गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने घोषणा गरिएको छ । त्यसैले अब चुनौती केवल महाधिवेशन सम्पन्न गर्नु मात्र होइन । चुनौती त महाधिवेशनपछि पार्टीभित्र गुट भन्दा संगठन, व्यक्तिभन्दा संस्था, पहुँचभन्दा योग्यता, परिवारभन्दा कार्यकर्ता र स्वार्थभन्दा विचारलाई प्राथमिकता दिने राजनीतिक संस्कार स्थापित गर्नु हो ।
विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको बाटो खोल्यो । अब १५औँ महाधिवेशनले राजनीतिक संस्कार परिवर्तनको बाटो खोल्न सक्छ कि सक्दैन, त्यसको वास्तविक परीक्षा यहीँबाट सुरु हुनेछ ।
सभापति एक्लैले परिवर्तन गर्न सक्दैनन् । परिवर्तनका लागि नेतृत्व देखि वडा एकाइ सम्मको सोच, व्यवहार र कार्यशैली बदलिनु पर्छ । त्यसैले गगन थापाका लागि सबैभन्दा ठूलो चुनौतीबाहिरको विरोध मात्र होइन, आफ्नै संगठनभित्र नयाँ राजनीतिक संस्कार स्थापित गर्नु पनि हो । आफ्नै संगठनभित्र देखिएका कमजोरी परिवर्तन तलै देखि सुरु गर्नुपर्छ र खुलेर बोल्न सक्नुपर्छ । आत्मसमीक्षा गर्न सक्ने पार्टी मात्र सुधारको बाटोमा अघि बढ्न सक्छ र वास्तविक परीक्षा वडा, एकाइ, क्षेत्र र समुदायको तहमा पार्टी सञ्चालन गर्ने संस्कार परिवर्तन भयो कि भएन भन्ने कुराले गर्नेछ ।