Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमाशुल्क संकलन पाँच प्रतिशत बढ्यो

बीमाशुल्क संकलन पाँच प्रतिशत बढ्यो


काठमाडौं । बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्क झण्डै पाँच प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७९–०८० को जेठ मसान्तसम्ममा कुल एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६२ प्रतिशतले बढी हो ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सञ्चालनमा रहेका १५ वटा जीवन बीमा र १४ निर्जीवन बीमा गरी कुल २९ वटा कम्पनीहरूले एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ संकलन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार आव २०७९–०८० जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन कम्पनीहरूको कुल बीमाशुल्क रकम ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरूले भने २०८० जेठ मसान्तसम्ममा एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल जीवन बीमाशुल्क रकम एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

प्राधिकरणका अनुसार आव २०७९–०८० जेठ मसान्तसम्ममा कुुल निर्जीवन बीमालेखको संख्या भने २५ लाख ३७ हजार चार सय १६ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव शून्य छ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल २३ लाख ४८ हजार दुई सय ३२ वटा निर्जीवन बीमालेख जारी भएको थियो । २०८० को पछिल्लो अवधिमा जारी भएको कुल जीवन बीमालेखको संख्या भने एक करोड ४० लाख ६९ हजार नौ सय ३७ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जारी भएको कुल जीवन बीमालेखको संख्या एक करोड २६ लाख ३२ हजार तीन सय ७३ रहेको थियो ।

बीमा कम्पनीहरूको कुल कार्यालय संख्या भने आव २०७९–०८० को पछिल्लो अवधिमा दुई हजार आठ सय ८७ वटा पुगेको छ । प्राधिकरणका अनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूको कुल कार्यालय संख्या तीन हजार तीन सय ३५ वटा रहेको थियो । आव २०७९–०८० को जेठ मसान्तसम्ममा बीमा कम्पनीमा कार्यरत रहेको कुल कर्मचारी संख्या भने ११ हजार एक सय ९९ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा भने बीमा कम्पनीहरूमा रोजगारी पाउनेको कुल संख्या ११ हजार आठ सय ५१ रहेको प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया