Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजीवन बीमाको सक्रिय बीमालेख घट्यो

जीवन बीमाको सक्रिय बीमालेख घट्यो


काठमाडौं । चालू आर्थिक वर्षको साउनमा जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेखको संख्या एक लाख १५ हजार सात सय ८१ ले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तमा सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख २१ हजार पाँच सय ४० छ । यो संख्या असार मसान्तमा एक करोड ४१ लाख ३७ हजार तीन सय २१ थियो ।

तथ्यांकअनुसार एक महिनामा नौ हजार सात सय ८९ वटा पोलिसी सरेन्डर भएका छन् । यसबापत बीमा कम्पनीबाट एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । आर्थिक मन्दीका कारण बीमा सरेन्डर गर्नेहरूको संख्या उच्च रहेको जानकारहरू बताउँछन् । आर्थिकरूपमा सहज हुँदा मात्रै बीमामा आकर्षण देखिने भएकाले पनि मन्दी आउँदा बीमाको ‘सरेन्डर’ दर बढी देखिएको बीमा कम्पनीहरू बताउँछन् ।

साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो शुल्क असारमा भन्दा करिब दुई अर्ब रुपैयाँले बढी हो । असारमा जीवन बीमा कम्पनीले १७ अर्ब ८१ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

बीमा कम्पनीहरूले साउनमा मात्रै एक खर्ब ५३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमांकबराबरको आठ लाख ३३ हजार दुई सय ३३ वटा बीमालेख जारी गरेका छन् । यसबापत कम्पनीहरूले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको देखिन्छ भने नवीकरण गरेबापत १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ संकलन गरेका छन् । गत असारमा बीमा कम्पनीहरूले ११ लाख सात हजार नौ सय ७० वटा बीमालेख जारी गरेका थिए ।

अहिले नेपालमा १४ वटा जीवन बीमा कम्पनी र दुईवटा जीवन बीमा व्यवसाय गर्ने लघु बीमक कम्पनी सञ्चालनमा छन् ।

जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले साउनसम्म जारी गरेको लघु बीमालेखअन्तर्गत सक्रिय बीमालेखको संख्या ३९ लाख ५३ हजार आठ सय ६७ रहेको छ । साउनमा मात्रै एक लाख ६४ हजार एक सय ७१ लाख लघु बीमालेख जारी भएको देखिन्छ । यस्तै लघु बीमाबाट आर्जित बीमाशुल्क १३ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखअन्तर्गत साउनमा ५८ अर्ब ८० करोड रुपैयाँबराबर बीमाङ्क रकमको बीमा गराएको देखिन्छ । यो अवधिमा ५८ हजार आठ सय बीमालेख जारी भएको छ भने २४ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । साउन महिनासम्म कुल सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या १६ लाख ७६ हजार दुई सय ९६ छ ।

बीमा प्राधिकरणका अनुसार साउनमा निर्जीवन बीमा कम्पनीहरूले जारी दुई लाख १३ हजार आठ सय २८ वटा बीमालेख जारी गरेका छन् । बीमा कम्पनीहरूले १३ खर्ब ९१ अर्ब ९३ करोड १९ लाख रुपैयाँबराबरको बीमा गराएका छन् । साउनमा निर्जीवन बीमा कम्पनीले तीन अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । लघु बीमालेखतर्फ बीमा कम्पनीहरूले एक अर्ब ५६ करोड ७३ लाख रुपैयाँबराबरको दुई हजार १५ वटा बीमालेख जारी गरेका छन् । यसबापत २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार साउनमा जारी भएका दुई लाख १३ हजार आठ सय २८ बीमालेखमध्ये ४५ हजार आठ सय १५ सम्पत्ति, १३ हजार ४५ सामुद्रिक, सात हवाई, एक लाख २४ हजार छ सय ७५ मोटर, एक हजार चार सय ९८ इन्जिन, ११ हजार सात सय ५४ कृषि तथा बाली, दुई हजार १५ लघु र १५ हजार १९ वटा विविध शीर्षकमा बीमालेख जारी भएका छन् ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया