Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारएक वर्षमा १९ प्रतिशतले बढ्यो बीमा क्षेत्रको लगानी

एक वर्षमा १९ प्रतिशतले बढ्यो बीमा क्षेत्रको लगानी

२८ कम्पनीको कुल लगानी छ खर्ब २८ अर्ब


काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड रूपैयाँले बढेर छ खर्ब २८ अर्ब ९६ करोड रूपैयाँ पुगेको हो ।

नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुईवटा पुनर्बीमा कम्पनी र चारवटा लघुविमा कम्पनीसहितका कुल ३४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेको भए पनि यो कुल लगानी भनेको जीवन र निर्जीवन समेत गरी २८ वटा कम्पनीको भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ भने बीमा कम्पनीहरूको कुल लगानी पाँच खर्ब २७ अर्ब ३७ करोड रूपैयाँ मात्र रहेको थियो । बीमा कम्पनीहरूको कुल लगानीमध्ये जीवन बीमा कम्पनीहरूको मात्र कुल लगानी २० दशमलव २९ प्रतिशतले बढेको छ । जसअनुसार आर्थिक वर्ष २०७८/७९ मा चार खर्ब ७३ अर्ब १६ करोड रूपैयाँ रहेको जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा ९६ अर्ब रूपैयाँले बढेर पाँच खर्ब ६९ अर्ब १६ करोड रूपैयाँ पुगेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी भने पछिल्लो अवधिमा १० दशमलव ३२ प्रतिशतले बढेको छ । सोअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्ब २० करोड रूपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ५९ करोड रूपैयाँले बढेर ५९ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ । पछिल्लो अवधिमा बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने दुई दशमलव ८७ प्रतिशत अर्थात् पाँच अर्ब १० करोड रूपैयाँले बढेको छ । प्राधिरणका अनुसार आर्थिक वर्ष २०७८/७९ जीवन र निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन एक खर्ब ७७ अर्ब ८१ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा यस्तो रकम बढेर एक खर्ब ८२ अर्ब ९१ करोड रूपैयाँ पुगेको हो । यसरी बढेको कुल रकममध्येमा जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क संकलन आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा दुई दशमलव ८४ प्रतिशत अर्थात् तीन अर्ब ९३ करोड रूपैयाँले बढेर एक खर्ब ४२ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जीवन बीमा कम्पनीहरूको यस्तो रकम एक खर्ब ३८ अर्ब ६४ करोड रूपैयाँ थियो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन दुई दशमलव ९८ प्रतिशत अर्थात् एक अर्ब १७ करोड रूपैयाँले बढेर ४० अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ३९ अर्ब १७ करोड रूपैयाँ थियो ।

पछिल्लो समय जीवन बीमाको दायरमा आएको कुल जनसंख्या भने ३९ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । यो संख्या भने वैदेशिक रोजगार बीमाबाहेकको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या ३८ दशमलव ४४ प्रतिशत थियो । वैदेशिक रोजगार बीमासहित जीवन बीमाको दायरामा आएको कुल जनसंख्या भने आर्थिक वर्ष २०७०/८० मा ४४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो संख्या ४१ दशमलव ३९ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया