Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारराष्ट्रिय बीमा कम्पनीमा बेथितिको चाङ

राष्ट्रिय बीमा कम्पनीमा बेथितिको चाङ

जथाभावी खर्च, खर्चको पुष्टि हुन सकेन


काठमाडौं । राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी हो । सरकारी स्वामित्वकै भएका कारण व्यवस्थापकहरूले खर्चको विवरण लुकाएर जथाभावी खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले दर्जनौँ कैफियतहरू देखाएको छ । जसबाट कम्पनी सञ्चालकहरूको लापरवाही प्रस्ट देखिन्छ ।

कम्पनीले राष्ट्रिय बीमा संस्थानसँग लाइफ इन्स्योरेन्स डिभिजन शीर्षकमा चार करोड ११ लाखको हिसाब मिलान गरेकोमा सोको पुष्ट्याइँ हुनै नसकेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै कम्पनीको अन्तरशाखा हिसाबमा ८९ लाख ४८ हजार रुपैयाँ फरक रहेको, हिसाब मिलान विवरणमा समायोजन नगरेको १० करोड ४८ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार कम्पनीले हालसम्म चारवटा बैंक खाताको तीन करोड ५९ लाखको हिसाब मिलान गरेको छैन । कम्पनीले अग्रीम आयकर व्यवस्था ३२ करोड २४ लाखमा संशोधित कर निर्धारणबाट थप भएको कर दायित्व २१ करोड १९ लाख समायोजन गरेको छैन । यसैगरी मूल्य अभिवृद्धि कर एक करोड पाँच लाख तिर्नुपर्ने देखिएकोमा वित्तीय विवरणअनुसार दुई करोड २४ लाख फिर्ता पाउनुपर्ने देखिएकोले हिसाब यकिन गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७०/०७१ देखि २०७२/०७३ सम्मको वित्तीय विवरणमा देखाएको भुक्तानी हुन बाँकी पैसा उल्लेख गरेको भन्दा १२ करोड २३ लाख रुपैयाँले बढी भुक्तानी गरेको देखाएको छ । कम्पनीमा परेको दाबी भुक्तानी भएको, भुक्तानी हुन बाँकी, पुनर्बीमकबाट प्राप्त गर्नुपर्ने तथा प्राप्त दाबीबापतको रकम, सर्भे शुल्कलगायतको कागजात तथा अद्यावधिक विवरण लेखापरीक्षणमा पेस नभएकोे पनि महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाले भनेको छ, ‘बीमा दाबी र भुक्तानी रकमको हिसाब अद्यावधिक गरी यथार्थता यकिन गर्नुपर्दछ ।’

कम्पनीले पेस गरेको वित्तीय स्थिति र सञ्चालन नतिजालाई चित्रण गर्ने वित्तीय विवरण र सोसँग सम्बन्धित कागजातउपर लेखापरीक्षण राय स्थापित गर्न आवश्यक पर्याप्त तथा उपयुक्त प्रमाणहरू पेस नभएको उल्लेख गरी लेखापरीक्षकले कुनै राय व्यक्त नगरेको भेटिएको छ । यस्तो अवस्थामा वित्तीय विवरणमा उल्लिखित अंक पुष्टि हुने कागजात पेस नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन पनि महालेखाले निर्देशन दिएको छ । सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७३/०७४ देखि नेपाल वित्तीय प्रतिवेदनमानअनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था रहेकोमा कम्पनीले हालसम्म सोहीअनुसार विवरण तयार नगरेको पनि महालेखाले उल्लेख गरेको छ ।

प्रबन्धपत्रअनुसार ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत साधारण सेयर रहने व्यवस्था रहेकोमा नेपाल सरकारको ४७ दशमलव ५० प्रतिशत समेत संस्थापकको ८० दशमलव ४६ प्रतिशत र सर्वसाधारणको १९ दशमलव ५४ प्रतिशत सेयर छ । यो अवस्थामा कम्पनीले प्रबन्धपत्रअनुसार सेयर संरचना कायम गर्नुपर्ने महालेखाको भनाइ छ । कम्पनीले सस्पेन्स हिसाब शीर्षकमा गत वर्षसम्मको ७२ करोड ६६ लाख यो वर्ष जिम्मेवारी सारेको छ । सस्पेन्सअन्तर्गत पुनर्बीमालगायतका विभिन्न शीर्षकमा नमिलेको हिसाब आर्थिक वर्ष २०७०/०७१ बाट क्रमशः व्यवस्था गर्दै जाने निर्णयबमोजिम सो वर्षको २९ करोड ५४ लाखसहित एक अर्ब दुई करोड २० लाख सम्भावित खर्च व्यवस्था गरेको छ । सस्पेन्स हिसाब अद्यावधिक गर्दा कम्पनीको वित्तीय विवरणमा पर्नसक्ने प्रभाव यकिन गर्नसक्ने अवस्था नदेखिएकोले रकमको प्रयोजन यकिन गरी सम्बन्धित शीर्षकमा लेखांकन गर्न महालेखाले भनेको छ ।

महालेखाका अनुसार राष्ट्रिय बीमा संस्थानले गर्दै आएको निर्जीवन बीमा व्यवसाय छुट्टै संस्थाबाट सञ्चालन गर्नको लागि २०७१ मा राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापना भई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । तर, कम्पनीले कारोबार सञ्चालनमा पारदर्शिता, संस्थागत शुसासन र खर्चमा मितव्ययिता अपनाउन नसक्दा यसको नकारात्मक असर बीमा कम्पनीहरूलाई हेर्ने आमनागरिकको दृष्टिकोणमा पर्नजाने देखिएको भन्दै यस्तो अवस्था आउन नदिन प्रभावकारीरुपमा कार्य सञ्चालन गर्न पनि महालेखाले निर्देशन दिएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x