‘जोखिममा आधारित पुँजी कार्यान्वयनमा प्राधिकरणले सहजीकरण गर्छ’
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा जोखिममा आधारित पुँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पुँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए ।
अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू परम्परागतरूपमा नभई आधुनिक समयअनुसार अघि बढ्नुपर्छ, कम्पनीको सक्षमता बढाउन र विश्व बजारमा विश्वास अभिवृद्धि गर्न पनि बीमा कम्पनीहरूले आरबीसी लागू गर्नुपर्छ, आरबीसी पूर्णरूपमा कार्यान्वयन गर्नका लागि कम्पनीका व्यवस्थापनले जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ ।’
अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयन आफ्नै लागि हो भन्ने बुझेर सोहीअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै नेपाल बीमक सङ्घले कम्पनीका फरक–फरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा प्रस्तुत गरेमा छलफल गरी समाधान निकाल्न सहज हुने बताए । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयनसम्बन्धी प्रस्तुति गर्दै प्राधिकरणले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए ।
निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिमरूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साल साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने जानकारी दिए । आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले एक सय २० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पुँजीसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गर्दै निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्दै जाने स्पष्ट गरे ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आरबीसी कार्यान्वयनका क्रममा भूकम्प तथा बाढी पहिरोजस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आरबीसी कार्यान्वयन गर्न कम्पनीहरू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, वित्त विभाग प्रमुख र जोखिम व्यवस्थापन विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया