Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमाशुल्क आर्जनमा करिब छ प्रतिशतले वृद्धि, एक खर्ब ७० अर्ब सङ्कलन

बीमाशुल्क आर्जनमा करिब छ प्रतिशतले वृद्धि, एक खर्ब ७० अर्ब सङ्कलन


बीमा कम्पनीहरूले कुल बीमाशुल्क आर्जन रकम बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन समेत गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब ७० अर्ब ३२ करोड ७७ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ९६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले कुल एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क रकम एक खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ थियो । निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल निर्जीवन बीमाशुल्क रकम भने ३६ अर्ब ५६ करोड ९१ लाख नौ हजार रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव शून्य दुई प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या उल्लेख्यरूपमा बढेको भने जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको सामान्य अंकले मात्र बढेको छ । सोअनुसार जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठमसान्तसम्म कुल एक करोड ४० लाख ८९ हजार छ सय २२ वटा बीमालेखहरू जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव १४ प्रतिशतले मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले एक करोड ४० लाख ६९ हजार नौ सय ३७ वटा बीमालेख जारी गरेका थिए । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ९२ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल २५ लाख ३७ हजार चार सय १६ वटा बीमालेख जारी गरेका थिए ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित ४३ दशमलव ९५ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्यरूपमा मात्र कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत ४४ दशमलव २० प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x