Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूको लगानी साढे सात खर्ब

बीमा कम्पनीहरूको लगानी साढे सात खर्ब


जीवन र निर्जीवन बीमा कम्पनीहरूको लगानी करिब साढे सात खर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ असारसम्म १४ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको लगानी सात खर्ब ४८ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ छ । जसमा जीवन बीमा कम्पनीहरूको लगानी छ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको ६६ अर्ब ५२ करोड २० लाख रुपैयाँ छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी लगानी गर्ने जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ छन् ।समीक्षा अवधिमा नेपाल लाइफले दुई खर्ब तीन अर्ब १४ करोड १२ लाख रुपैयाँ, लाइफ इस्योरेन्स एक खर्ब १९ करोड ६९ लाख रुपैयाँ, हिमालयन लाइफ ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेसनल लाइफ ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, मेट लाइफ २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, एसियन लाइफ ४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ, आईएमई लाइफ १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ, सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, रिलायन्स नेपाल १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफ १९ अर्ब २४ करोड पाँच लाख रुपैयाँ, सूर्यज्योति ३४ अर्ब ८२ करोड एक लाख रुपैयाँ, सानिमा रिलयान्स १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँबराबरको लगानी छ ।

आर्थिक वर्ष २०८०÷८१ मा जीवन बीमा कम्पनीहरूले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल राष्ट्र बैंकको बचतपत्र तथा ऋणपत्रमा तीन अर्ब १० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । यसबाहेक वाणिज्य बैंकको मुद्दती निक्षेपमा चार खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा नौ अर्ब २७ करोड ४० लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् । सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५२ अर्ब ७४ करोड २० लाख रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा आठ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नागरिक लगानी कोष र म्युचअल फन्डमा दुई अर्ब ५० करोड २६ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ४६ करोड ४५ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा एक अर्ब आठ करोेड ४० लाख रुपैयाँ र अन्य लगानीमा ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ छ ।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी लगानी गर्ने निर्जीवन कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेनस र नेको इन्स्योरेन्स छन् । समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आठ अर्ब ४६ करोड तीन लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले आठ अर्ब आठ करोड ५१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले छ अर्ब २१ करोड १२ लाख रुपैयाँ, नेको इन्स्योरेनस कम्पनीले छ अर्ब १० करोड दुई लाख रुपैयाँ, नेपाल इस्योरेन्स कम्पनीले चार अर्ब २३ करोड दुई लाख रुपैयाँ, द ओरेन्टल इन्स्योरेन्स कम्पनीले तीन अर्ब २९ करोड २१ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनीले दुई अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले दुई अर्ब ४६ करोड ९१ लाख रुपैयाँ लगानी गरेका छन् ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले चार अर्ब ६२ करोड ५३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ९१ करोड ९२ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले पाँच अर्ब दुई करोड २२ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३४ करोड ६१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पाँच अर्ब १९ करोड १७ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चार अर्ब एक करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् ।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कम्पनीहरूले घरजग्गाबाहेक संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वाणिज्य बैंकको मुद्दती निक्षेपमा, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा र सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरलगायतका शीर्षकमा पर्याप्त लगानी गरेका छन् । समीक्षा अवधिमा उक्त कम्पनीहरूले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब छ करोड पाँच लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा पाँच अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब १७ करोड रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा तीन अर्ब ८६ करोड पाँच लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिभेन्चर र ऋणपत्रमा तीन अर्ब २४ करोड ३८ लाख रुपैयाँ सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिभेन्चर र ऋणपत्रमा ९९ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन् ।

कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा एक अर्ब दुई लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा ७२ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १४ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा एक अर्ब ४१ करोड ७९ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा एक करोड ९१ लाख रुपैयाँ र अन्य लगानी दुई अर्ब १८ करोड आठ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमकको लगानी निर्देशन (पहिलो संशोधन) २०८० अनुरूप निर्जीवन बीमा कम्पनीहरूले बचतकोष, निक्षेपकोष, कृषि, सेवालगायतका सरकारका विभिन्न कोषहरूमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ भने सोही व्यवस्थामा रही कम्पनीहरूले लगानी गर्दै आएको पाइन्छ । निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्दा कुल लगानीको बढीमा एक दशमलव पाँच प्रतिशत लगानी गर्नसक्ने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x