Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला

सूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला


काठमाडौं । सूर्यविनायक नगरपालिकाले तीनदिने ‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला–२०८०’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाले आज अर्थात् शुक्रबारदेखि जगातिस्थित तरकारी बजारमा मेला आयोजना हुने जनाएको हो ।

सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले मेलाबाट कृषि र पर्यटनको विकास हुने धारणा राखे । धान दिवसका अवसरमा शुक्रबार बिहान १० बजेदेखि सुरु हुने मेला आइतबार साँझसम्म सञ्चालन हुने बताइएको छ । ‘दिगो विकास व्यवस्थित सहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नारालाई सार्थक बनाउन मेलाले सहयोग गर्नेमा थापाले विश्वास व्यक्त गरे । दीर्घकालीनरूपमा कृषि, घरेलु उद्योग र पर्यटनलाई मुख्य आर्थिक मेरुदण्ड बनाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रमुख थापाले बताए । ‘सूर्यविनायकले पहिलोपटक यस्तो मेला आयोजना गर्दैछ । यसले नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पु¥याउने विश्वास लिएको छु ।’ प्रमुख थापाले भने ।

यस्तै, नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथै दिगो विकासको लक्ष्य हासिल गर्न मेलाले टेवा पु¥याउने बताइन् । मेलाबाट स्थानीय उद्योगी तथा व्यवसायीको सञ्जाल विस्तार हुने उनको विश्वास छ ।

यो मेलाले मौलिक उत्पादन तथा वस्तुको स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रियस्तरसम्म पुहुँच अभिवृद्धि गर्न सहयोग गर्ने जनप्रतिनिधिहरूको विश्वास छ । कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्रप्रसाद सापकोटाले मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादनलाई उजागर गरिने बताए ।

मेलामा नगरपालिका भित्रका लघु, घरेलु साना उद्यमी एवं महिला उद्यमीको उत्पादन, स्वदेशी औद्योगिक वस्तु प्रदर्शन गरिने छ । त्यस्तै, स्थानीय मौलिक उत्पादन जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादन आदिको समेत प्रदर्शनी हुनेछ ।

त्यस्तै, पर्यटन उद्योगका उत्पादन, मौलिक नेवारी खाजा, समयबजी, यमरी, चटामरी, बारासहितको खाना पनि प्रदर्शनीमा राखिने सापकोटाले जानकारी दिए । उनका अनुसार मेलामा मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक–गायिकाको साङ्गीतिक प्रस्तुतिसमेत हुनेछ । प्रवक्ता सापकोटाका अनुसार मेलामा ९० वटा स्टलको व्यवस्था गरिएको छ भने पचास हजारभन्दा बढी सहभागीले अवलोकन गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया