Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवायुसेवा निगम ६५औँ वर्षमा

वायुसेवा निगम ६५औँ वर्षमा


काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६५औँ वार्षिकोत्सव मनाएको छ । शनिबार नयाँ सडकस्थित केन्द्रीय कार्यालयमा वैदिक विधिअनुसार आकाश भैरवको पूजा गरी निगमले वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा निगमले प्रधान कार्यालयबाट वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहीदगेट हुँदै निगमसम्म प्रभातफेरी समेत आयोजना गरेको छ । वार्षिकोत्सवमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीलाई आग्रह गरे ।

निगमले वार्षिकोत्सवको अवसरमा असार ८ गते केन्द्रीय कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । निगमका एक सय ७२ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यसैगरी निगमको केन्द्रीय कार्यालयमा असार १५ गते टेबल टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ निगमका कामु उपनिर्देेशक शैलेश कंशाकार पहिलो र निगमका अध्यक्ष युवराज अधिकार दोस्रो भएका थिए । महिलातर्फ उपनिर्देशक सविना शाक्यले पहिलो र उपनिर्देशक प्रतिभा शर्मा दोस्रो भएकी छन् । विनातामझाम आर्थिक मितव्ययिता अपनाई वार्षिकोत्सव कार्यक्रम मनाइएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६५ वर्षे दौरानमा पछिल्लोपटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानका नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया