Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकमलादीमा स्काई वाक टावर सञ्चालनमा

कमलादीमा स्काई वाक टावर सञ्चालनमा


काठमाडौं । काठमाडौंको कमलादीमा स्काई वाक टावर सञ्चालनमा आएको छ । साहसिक पर्यटनको हव बनाउने प्रयासअनुसार शुक्रबारबाट टावर औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । ७८ दशमलव पाँच मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गर्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एकपटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रालिका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए । ‘टावरको २५ औँ तला साहसिक तला हो । त्यहाँ पुगेपछि सिसा ओच्छ्याइएको भुइँमा हिँड्न पाइन्छ’, उनले भने, ‘यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

स्काई वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेजस्तो भान हुन्छ । एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्यान्ड गरेको दृश्यावलोकनसमेत यहाँबाट सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरालगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ । झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक पाँच सय मान्छे अट्नेछन् । टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया