Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलप्ची बोट–बुद्ध चोक मेलुङ सडक सञ्चालनमा

लप्ची बोट–बुद्ध चोक मेलुङ सडक सञ्चालनमा


दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाको प्रमुख ग्रामीण सडक तामाकोसी–पवटी–बुद्धचोक–डाँडाखर्क सडक सञ्चालनमा आएको छ । गाउँपालिकाले यो सडकमा ग्रेड मिलान गरी बीच र छेउछेउमा ढलानसहित बक्स सोलिङ गरेपछि सडक सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

पालिका अध्यक्ष हीरा थोकरका अनुसार अब यो सडकबाट हिउँद र वर्षा दुवै मौसममा गाडी चलाउन सकिन्छ । सडक मर्मत भएसँगै अब यहाँका स्थानीयले बर्खाको समयमा पैदल हिँड्नुपर्ने समस्या समाधान भएको अध्यक्ष थोकरले बताए । सदरमुकाम चरिकोट–तामाकोशी हुँदै पालिका केन्द्र पुग्ने राजमार्गको रूपमा सञ्चालित उक्त सडक मर्मत तथा निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । सडक मर्मतसँगै सो पालिका ओहोरदोहोर गर्ने स्थानीयलाई सहज भएको स्थानीयले बताएका छन् । पालिकाले आगामी आवमा पनि सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिने जनाएको छ । पालिकाका इन्जिनियर सुमन नेपालका अनुसार उपभोक्ता समितिमार्फत ३४ लाख रुपैयाँमा सडक निर्माण भएको हो । सडक बलियो बनाउन बक्स सोलिङ, कटिङ, स्टोन म्यासेनरी र ह्युमपाइप राख्ने काम भएको छ ।

जमिनको काम दुई हजार ६४६ क्युबिक मिटर, स्टोन सोलिङ २५८ क्युबिक मिटर, प्लेन सिमेन्ट कङक्रिट दुई दशमलव ७८ क्युबिक मिटर, कङ्क्रिट ५४ दशमलव ३१ क्युबिक मिटर, स्टोन म्यासेनरी ३८ दशमलव ८८ क्युबिक मिटर र २० मिटरमा ह्युमपाइप राखिएकोे उनले बताए । पालिकाले आगामी आर्थिक वर्षको बजेट पनि पूर्वाधार विकासमा केन्द्रित गरी ल्याउने जनाएको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाले प्रशासनिक भवन निर्माणदेखि स्थानीय ग्रामीण सडक निर्माणलाई समेत प्राथमिकतामा राखेको पालिकाकी उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया