Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल भित्रियो रमडा, इटहरीमा पाँच तारे होटल सञ्चालन गर्ने

नेपाल भित्रियो रमडा, इटहरीमा पाँच तारे होटल सञ्चालन गर्ने


काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटल ‘रमडा’को रूपमा सञ्चालनमा आउने भएको हो ।

रमडाको मातृ कम्पनी विंडहाम होटल्स एन्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेतबीच भारतको दिल्लीमा गत शुक्रबार होटल सञ्चालनका लागि सम्झौता भएको छ । अध्यक्ष बस्नेतले नेपालको पर्यटन प्रबर्द्धन र होटल व्यवसायको प्रबद्र्धनमा यो नयाँ खुड्किलो भएको बताए । यस्तै, उनले विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत साझेदारी गर्ने जानकारी दिए ।

यस्तै, विंडहाम होटल्स एन्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले नेपालमा आफ्नो ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकलाई विश्वस्तरीय आतिथ्य दिने बताए । विंडहाम होटल्स एन्ड रिसोट्र्स विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका नौ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० देशका एक हजार छ सयभन्दा बढी होटल सञ्चालनमा ल्याएको छ ।

निर्माणाधीन पाँच तारे उक्त होटलमा कुल आठ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहने छन् । होटलमा विवाह, पार्टी, सेमिनारका लागिसमेत कोठाहरू व्यवस्थापन गरिनेछन् । भारतीय सीमा जोगबनी तथा विराटनगर एयरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरेको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ । होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।

ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतले नेपालमा एकपछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइरहेका छन् । हालै मात्र उनले काठमाडौंमा निर्माणाधीन पाँचतारे होटलमा एक्कोर समूहको मक्र्योर ब्रान्ड भित्र्याएका थिए । यस्तै, उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारेस्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । एबी होल्डिङ्सका अध्यक्षसमेत रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट अन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया