Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनआरएनएले नेपालमा सिपमूलक कार्यक्रम सञ्चालन गर्ने

एनआरएनएले नेपालमा सिपमूलक कार्यक्रम सञ्चालन गर्ने


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको व्यावसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवम् अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभर बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सिपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए । दक्ष र सिपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक कार्यहरू अघि बढाउने उनले बताए । कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट कामका लागि विभिन्न देशमा जाने नेपालीले सिपको अभावमा दुःख पाउनुपर्ने अवस्था अन्त्यका लागि पनि कमिटीले नयाँ कार्यक्रम सुरु गर्न लागेको बताएको छ । ‘श्रम तथा अध्ययनका निम्ति विभिन्न पेसाका लागि भारत, मध्यपूर्व र मलेसिया, अस्टे«लिया, युरोप, क्यानडा तथा अमेरिकालगायतका देशलाई थुप्रै नेपालीले आफ्नो गन्तव्य बनाएका छन्’, उनले भने, ‘त्यहाँ सिपविनै जाँदा धेरै समस्या भोग्नुपर्छ, यसर्थ पनि सिपमूलक दक्षता अभिवृद्धिका लागि सुरु गर्न लागिएको यो कार्यक्रम निकै महत्वपूर्ण छ ।’

कमिटीले श्रम, अध्ययन, पेसा वा वृत्ति–विकास जुनसुकै उद्देश्यले विदेश जान लागेका नेपाली युवायुवतीलाई उनीहरूको गन्तव्य देशको सामान्य भूगोल, हावापानी, रहनसहन, जीवनयापनको तौरतरिका सामान्य नियमकानुन, आप्रवासीको अवस्था, नरम सिपको बारेमा अभिमुखीकरण गराउने जनाएको छ । यस्तै, कुकरी बेकरी, बारिस्टा, फ्रन्ट अफिस, बार टेन्डिङ, हाउस किपिङ, एज केयरिङ, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर डे«सिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुङ्स रिपेयरिङ, इलेक्ट्रोसियनजस्ता सिपमूलक एवं प्राविधिक तालिम दिने व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनमा जोड दिने, उच्च दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरलाई बढावा दिनेलगायतका योजना कमिटीले अघि सारेको छ । नेपालको नियम कानुनअनुसार सम्बन्धित निकायबाट स्वीकृति र कलेज तथा विश्वविद्यालयको सम्बन्धनसमेत लिएर कार्यक्रम छिट्टै सुरु गर्ने संयोजक केसीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया