Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअसोजदेखि द्रूत बस सेवा सञ्चालन हुने

असोजदेखि द्रूत बस सेवा सञ्चालन हुने


काठमाडौं । असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रूत बस सञ्चालन हुने भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले द्रूत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको हो ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको बताए । त्यसपछि अन्य रुटमा पनि चलाउन सकिने उनले जानकारी दिए । मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी दू्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रूत बस सेवा सवारीको चाप बढी हुने समय बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

त्यसका लागि ४० सिटभन्दामाथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए । दू्रत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । बसको आकार र रङ अरूभन्दा फरक हुने गरी द्रूत बस सेवा सञ्चालनको तयारी भइरहेको उनले बताए ।

दू्रत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशनसमेत दिएका छन् । अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झण्डै डेढ घण्टा लाग्ने गरेको छ । द्रूत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासंघका पदाधिकारीसहितको बैठकले द्रूत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै, दू्रत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रूत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको हो । हालका लागि अरू सवारीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया