Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोलखाका सबै क्रसर उद्योग बन्द

दोलखाका सबै क्रसर उद्योग बन्द


दोलखा । दोलखामा मापदण्ड विपरीत सञ्चालनमा रहेका सबै क्रसर उद्योगहरू बन्द भएका छन् । मुख्यगरी जिल्लाको तामाकोशी नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहँदै आएका क्रसरहरू नयाँ आर्थिक वर्ष सुरु भएसँगै बन्द भएका हुन् ।

जिल्ला समन्वय समिति दोलखाको शुक्रबारको बैठकले सरकारले तोकेको मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयपश्चात् क्रसर व्यवसायीले क्रसर बन्द गरेका हुन् । यसअघि पनि समन्वय समिति र जिल्ला प्रशासनले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिए पनि क्रसर व्यवसायीहरू अटेर गरेर बसेका थिए । तर जिससको शुक्रबारको निर्णयलाई भने उनीहरूले सहयोग गर्न नभई काउन्टर दिनका लागि यसपटक आफैँले विज्ञप्ति निकालेर शनिबारदेखि क्रसर बन्द गरेका छन् । जिल्ला क्रसर व्यवसायी संघका संयोजक सन्तोष मैनालीले अनिश्चितकालको लागि उद्योग बन्द हुने बताए ।

जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगहरू नेपाल सरकारले तोकेको मापदण्ड पुगेका छैनन् । मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरू बन्द गर्ने निर्णयको विरुद्ध क्रसर उद्योग बन्द गरिएको मैनालीले बताए । सरकारले बनाएको मापदण्ड लागू गर्न नहुने अडानमा यहाँका व्यवसायी छन् । मापदण्ड बेगर नै क्रसर सञ्चालन गर्न पाउनुपर्ने मागबमोजिम उनीहरूले धुर्की देखाएर क्रसर बन्द गरेको यहाँका स्थानीय बताउँछन् । तर संघका अध्यक्ष मैनाली जिल्लाका क्रसर उद्योगहरू मापदण्डमा नपर्ने र अन्य ठाउँमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न पनि भौगोलिक अवस्थाले गर्दा सरकारले तोकेको मापदण्ड पु¥याउन नसकिने बताउँछन् । जिससको निर्णय नसच्याएसम्म जिल्लाभरका क्रसर उद्योगहरू नखोल्ने उनको भनाइ छ ।

जिससका एक सदस्य भने मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरेर व्यवसायीहरूले आफूहरूको निर्णयलाई पालना गरेको बताउँछन् । ‘जसले बन्द गरे पनि मापदण्ड विपरीत रहेका क्रसर बन्द गर्ने नै हो । उहाँहरू आफैँले गर्नुभो, राम्रो भो’, उनले भने । राज्यको नियम कानुन सबैले पालना गर्नुपर्ने उनी बताउँछन् । अनेक बहानामा गैरकानुनी कार्य गर्नु नहुने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया