Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगताइवानको बबल टी ‘चाटाइम’ ठमेलमा

ताइवानको बबल टी ‘चाटाइम’ ठमेलमा


काठमाडौं । काठमाडौंको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ । आइतबारबाट सुरु भएको ‘चाटाइम’मा सुरुकै दिन पारखीको भिड लागेको सञ्चालकको भनाइ छ ।

काठमाडौं गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, आकृति सिंह र विलाशा श्रेष्ठले आउटलेट स्थापना गरेका हुन् । सञ्चालकहरूका अनुसार बबल टी अन्य चियाजस्तो तातो हुँदैन । यो चिसो पेय पदार्थ हो । यो चिया आइस टीजस्तै हुन्छ । बबल टीलाई पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टीलगायत नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शितलता प्रदान गर्ने बताइएको छ ।

बबल टी ताइवानको लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा सुरु गरिएको हो । नेपालमा यस्तो चिया भित्रिएको केही वर्ष मात्र भएको सञ्चालकको भनाइ छ । उनीहरूका अनुसार कतिपय देशमा बबल टी चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टी मुख्यतया दुई किसिमले तयार गरिने भए पनि पछिल्लो समय यसका प्रकार स्वादअनुसार अनेक छन्,’ चाटाइम सञ्चालक यशु श्रेष्ठले भनिन् ।

उनका अनुसार बबल टीको लागि प्रयोग हुने मुख्य सामग्री टापियोका पर्ल हो, जुन पिँडालुको पिठोबाट बनाइन्छ । यो निकै कोमल र चुइङगमजस्तै हुन्छ । यो कफी या टी फ्लेवर पाउडर, क्रिम फ्लेवर पाउडर, जुस फ्लेवर पाउडर’मा उपलब्ध हुन्छ । टी हाउस या सुपरमार्केटमा बबल टीका लागि चाहिने अधिकांश सामग्री उपलब्ध हुने हुँदा स्वास्थ्यका हिसाबले यसलाई आफैंले घरमा बनाएर पिउँदा पनि राम्रो हुने उनको भनाइ छ ।

‘उचित तरिकाले तयार गरी प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बबल टी नेपालीहरूबीच पनि लोकप्रिय बनेको छ,’ उनले भनिन् । उच्च गुणस्तर कायम गरी स्वादमा एकरूपता कायम गर्ने हेतुले ताइवानबाट नै ‘चाटाइम’ का एक्सपर्ट सेफहरूले हाल तालिम उपलब्ध गराइरहेको उनले बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया