तीन सय २२ उद्योगका लागि दुई खर्ब १४ अर्ब लगानी प्रस्ताव
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको उद्योग क्षेत्रमा स्वदेशी र विदेशी लगानीकर्ताबाट दुई खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार तीन सय २२ वटा उद्योग स्थापनाका लागि उक्त रकमबराबरको लगानी प्रस्ताव आएको हो । यी उद्योगले २३ हजार तीन सय २४ जनालाई रोजगारी प्रतिबद्धता जनाएको विभागले बताएको छ । गत आर्थिक वर्षमा आएकोे लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा एक खर्ब २९ अर्ब रुपैयाँले कम हो ।
विभागका अनुसार आर्थिक वर्ष २०७८/७९मा तीन खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो । सो लगानी प्रस्ताव तीन सय नौवटा उद्योग स्थापना तथा २८ हजार पाँच सय २७ जनालाई रोजगारीसहित आएको हो । स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी प्रस्ताव गरे पनि ज्यादै न्यून रकम मात्र लगानीको रूपमा भित्रिने गरेकाले उद्योग क्षेत्रको विस्तार न्यून छ । कर्मचारीको ढिलासुस्ती, उद्योग स्थापनाको लागि जग्गा लिन असहज, स्थानीय विवाद, भ्रष्टाचारलगायतका कारणले गर्दा नयाँ उद्योग स्थापना तथा सञ्चालनमा लगानीकर्ताको आकर्षण नदेखिएको सरोकारवालाहरू बताउँछन् ।
सरकारले उद्योग दर्ता, लगानी स्वीकृतलगायतका सम्पूर्ण प्रक्रियागत कामहरू अनलाइनबाट गर्ने बताए पनि त्यो हुन सकेको छैन । सरकारले प्रविधिको प्रयोग गरी उद्योगको प्रशासनिक कामहरू गर्नसक्ने वातावरण मिलाउन विभागलाई निर्देशन दिइसकेको अवस्थामा समेत त्यसले पूर्णता पाउन सकेको छैन । विभागका अधिकारीहरूले गत आर्थिक वर्षमा उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रियालगायतका कामहरू अनलाइनबाट गर्न मिल्ने गरी काम अघि बढाएका थिए । जसबाट स्वदेशीका साथै विदेशी लगानीकर्तालाई सहज हुने बताइएको थियो । तर, प्रणालीको विकास र अनलाइन प्रविधिमा जान विभागले एक करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, कार्यान्वयन हुन सकेन । अनलाइन प्रविधिमा विभागको कामकारबाही मात्र सीमित नभई एकल बिन्दु सेवा केन्द्र (ओएसएससी)को सेवा पनि समावेश हुने बताइएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा कुल विदेशी लगानीस्वरूप ३३ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ । सो लगानी तीन सय २७ वटा उद्योग स्थापना तथा १७ हजार १२ जनालाई रोजगारीसहित आएको विभागले बताएको छ । गत आर्थिक वर्षमा साना, मझौला र ठूला गरी क्रमशः एक सय ८६ वटा, ७० वटा र ६६ वटा विभागमा उद्योग दर्ता गरिएको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्यान्ड रहेका छन् । यसका साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ भन्दा बढी मुलुक रहेको विभागका अधिकारी बताउँछन् ।
उद्योग स्थापना तथा सञ्चालनसँगै लगानीकर्ताले बौद्धिक सम्पत्तिस्वरूप प्योटेन्ट, डिजाइन र ट्रेडमार्क समेत विभागमा दर्ता गराएका छन् । गत आर्थिक वर्षमा बौद्धिक सम्पत्तितर्फ पाँचवटा प्याटेन्ट, १८ वटा डिजाइन र तीन हजार दुई सय ५४ वटा ट्रेडमार्क दर्ता भएका छन् ।
विभागले कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलकलगायतका उद्योगहरूको दर्ता गर्नेगरेको छ भने विदेशी लगानीकर्ताहरूका लागि कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । सोहीअनुरूप उनीहरूले लगानी ल्याउने तथा उद्योग दर्ता गराउने गरेको विभागकी सूचना अधिकारी रमिला भण्डारीले बताइन् ।
विभागले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उद्योग क्षेत्रमा लगानी गर्न विभिन्न ऐन, नियम निर्माण गरी सहजीकरण गरेको पाइन्छ । स्वदेशी लगानीकर्ताको हकमा ‘औद्योगिक व्यवसाय ऐन, २०७६’, ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५’ र ‘औद्योगिक नीति’ लगायतका ऐन नियमहरू रहेका छन् । विदेशी लगानीकर्ताको हकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’, ‘विदेशी लगानी नीति, २०७१’ अन्तर्गत रहेर विदेशी लगानीलाई प्रोत्साहन गरिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया