Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नाडा अटो सो’को स्टल निर्धारणका लागि लक्की ड्र

‘नाडा अटो सो’को स्टल निर्धारणका लागि लक्की ड्र


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको नाडा अटो सो २०२३ मा धेरै कम्पनी सहभागी हुने भएपछि स्टल निर्धारणका लागि लक्की ड्र गरिएको छ । १५ औँ संस्करणको नाडा अटो एक्स्पो २०२३ आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ ।

एक्स्पोमा सहभागी कम्पनीलाई स्टल उपलब्ध गराउन नाडाले लक्की ड्र गरेको छ । नाडाले त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा लक्की ड्रको आयोजना गरी स्टल निर्धारण गरेको हो । नाडा अटो एक्स्पोमा सहभागी हुने सबै फर्म/कम्पनीहरूले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले लक्की ड्रमार्फत स्टलको वितरण गरेको नाडाले जनाएको छ । स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो ।

यसपटकको एक्स्पोमा विगतमा भन्दा उत्साहजनकरूपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको नाडाले जनाएको छ । नाडा अटो एक्स्पोे २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन । धेरै समयपछि एक्स्पो आयोजना हुन लागेकाले पनि अटोमोबाइल कम्पनीले अत्यधिक सहभागिता जनाएको नाडाले जनाएको छ ।

दर्शकहरूले यस प्रर्दशनीमा विद्युतीय सवारीलगायत चार वर्षपछि हालसम्मको नयाँ मोडलहरू अवलोकन गर्न पाउने नाडाले जनाएको छ । खासगरी प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधन र त्यसमा प्रयोग हुने टायरटयुब, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणलगायतका विभिन्न सामग्रीसहित कुल ८२ वटा स्टल प्रदर्शनीमा रहने बताइएको छ  । जसमध्ये चारपाँगे्र सवारी १७, दुई पाँगे्र २३, कमर्सियल सवारी ६, बैक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्ट्स, कम्पोनेन्ट र एसेसरिज ३१ रहने नाडाले जनाएको छ ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार एक्स्पोले विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान गराउने अपेक्षा लिएको छ । प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनको बिक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेज समेत दिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया