Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रमिकलाई विना भेदभाव तलब दिन जिफन्टको आग्रह

श्रमिकलाई विना भेदभाव तलब दिन जिफन्टको आग्रह


काठमाडौं, वैशाख १७
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक विना भेदभाव उपलब्ध गराई असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने कुरा नबिर्सन जिफन्टले रोजगारदाताहरूलाई स्मरण गराएको छ ।

जिफन्ट राष्ट्रिय कमिटीको ९७औँ भर्चुअल (अनलाइन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति र कार्यथलोमा व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग गरेको छ । यसैगरी लकडाउनको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निष्काशन गर्ने र बेतलबी विदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेको छ । यस्तो क्रियाकलापले श्रम बजारमा नयाँ द्वन्द्व उत्पन्न गर्ने तर्फ सबैको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

लकडाउन अवधिमा विदा दिइएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलब, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ । बैठकमा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको सन्दर्भमा पनि छलफल भएको थियो । २८ अप्रिल संसारभरका श्रमिकहरूले विशेष महत्वसाथ श्रमिक स्मृति दिवस मनाइने गर्दछ ।

मृत्यु भएका मृतकहरूको सम्झना तथा बाँचेकाहरूका लागि संघर्ष गर्ने अठोट गर्दै संसारभर हरेक वर्ष विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । जिफन्टले यस दिवसको अवसरमा हरेक वर्ष मर्यादित तथा सुरक्षित कामका लागि सचेतना फैलाउन विविध कार्यक्रम आयोजना गर्दै आएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x