Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउनमा पनि विमानस्थल सुधार निरन्तर

लकडाउनमा पनि विमानस्थल सुधार निरन्तर


काठमाडौं, वैशाख १७ 
नोवल कोरोनाभाइरस (कोभिड १९) का कारण मुलुकभर लकडाउनको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारको कामलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा मन्त्रालयले विमानस्थलमा धावनमार्ग, एक्टिभ पार्किङ निर्माण तथा स्टाइल जोन (एप्रोन) बढाउने काम भइरहेको जानकारी दिएको छ ।

यसैबीच नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार लकडाउनको अवस्थामा पनि विमानस्थलमा रनवे, एक्टिभ पार्किङ निर्माण तथा स्टाइल जोन (एप्रोन) निर्माणको काम निरन्तर अघि बढिरहेको बताएको छ । प्राधिकरण स्रोतका अनुसार सो निर्माणको लागि झण्डै दुई अर्ब रुपैयाँभन्दा माथि खर्च हुनेछ । तीन सय मिटर धावनमार्ग निर्माणको लागि करिब एक अर्ब रुपैयाँ लाग्ने स्रोतले जानकारी दियो । एयरबस पार्किङ र स्टाइल जोन (एप्रोन) निर्माणको लागि भने क्रमशः करिब ५५ करोड रुपैयाँ र करिब ५० करोड रुपैयाँ लाग्नेछ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले धावनमार्ग अप्रिल अन्तिमसम्ममा निर्माण सम्पन्न हुने बताए । तीन हजार ५० मिटर रहेको धावनमार्गमा तीन सय मिटर थप गर्ने गरी निर्माण कार्य भइरहेको उनले जानकारी दिए । उनले भने, ‘प्राविधिक अर्थात् विदेशबाट सामग्री आयात गरेर गर्नुपर्ने काममा कठिनाइ भए पनि अन्य काम भने समयमै सकिनेछ ।’

उनले धावनमार्गको दक्षिणी भागमा दुईवटा एक्टिभ पार्किङ अर्थात् (यात्रु चढाउने र ओराल्ने ) निर्माण गरिरहेको बताए । ‘हामीसँग नौवटा एक्टिभ पार्किङ दुईवटा थप भएसँगै ११ वटा एक्टिभ पार्किङ हुन्छ’, उनले भने, ‘थप दुईवटा निर्माण गर्न लागिएको हो । अबको एक महिनाभित्र निर्माणसम्पन्न भई सो पार्र्किङ सञ्चालनमा आउनेछ ।’

उनले नयाँ बन्ने दुईवटा एक्टिभ पार्किङको क्षमता भने एयरबस ३३० दुईवटा राख्न मिल्ने खालको भएको बताए । ‘नयाँ बन्ने पार्र्किङ एयरबस ३३० दुईवटा राख्न मिल्ने गरी निर्माण गर्न लागिएको हो’, उनले भने, ‘यसबाट विदेश आउने जाने यात्रुलाई सहजताप्राप्त हुन्छ ।’

झण्डै दुई वर्षअघि सो पार्किङ निर्माणको काम सुरु भए पनि हाल आएर सम्पन्न हुनलागेको क्यानले जनाएको छ । क्यानले विमानस्थलमा एप्रोन बढाउने काम समेत भइरहेको जनाएको छ । विमानस्थल हातामा रहको स्टाइल जोन निर्माणकार्य समेत सम्पन्न भएको बताइएको छ भने सो स्टाइल जोनमा करिब दुई हजार यात्रु अट्नेछन् । उनले लकडाउनको कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा विमानस्थल सुधारको काम गर्न सहज भएको समेत बताए । ‘अन्तर्राष्ट्रिय उडानहरु ठप्प छन्’, उनले भने, ‘जसले गर्दा यात्रुहरु नहुँदा विमानस्थलमा मानिसको चाप हुन नसक्दा काम गर्न सहज भएको छ ।’

यस्तै प्राधिकरणले कोरोनाभाइरसको कारण कामदारहरुको स्वास्थ्य अवस्थामा समेत विशेष ध्यान दिएको बताएको छ । कामदारहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न दिनुको साथै स्वास्थ्यजाँचको समेत व्यवस्था मिलाइएको तथा विमानस्थल परिसरभित्रै क्याम्प निर्माण गरी खान र बस्न समेत सुविधा प्रदान गरिएको बताइएको छ । यस्तै कोरोनाभाइरसबाट सुरक्षित रहनको लागि दूरी कायम गरी कामदारहरुले काम गरिरहेका छन् । यस्तै सरकारले जेठ २ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरणमा रोक लगाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x