Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुका ग्यारेजको मनोमानी, ठगिँदै सेवाग्राही !

सोलुका ग्यारेजको मनोमानी, ठगिँदै सेवाग्राही !


सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा सञ्चालित मोटर ग्यारेज (वर्कसप) हरूको मनोमानीका कारण नागरिक ठगिने क्रम मौलाएको छ । ती ग्यारेजहरूले आफूखुसी मोटरपार्ट्सहरू बिक्री गर्दै सेवाग्राहीलाई ठग्ने गरेको गुनासो बढेको हो ।

सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा करिब एक दर्जन मोटर ग्यारेजहरू सञ्चालनमा छन् । कतिपय लामो समयदेखि सञ्चालनमा छन् भने केही भर्खरै खुलेका पनि छन् । यहाँ खुलेका कतिपय ग्यारेजहरू सेवा दिन बसेका छन् भने कतिपयले व्यवसायको नाममा ग्राहक ठग्ने गरेको ग्राहक सुनिल प्रधानले गुनासो गरे । उनका अनुसार यहाँ सञ्चालित ग्यारेजहरूले लिने सामग्रीको मूल्यमा एकरूपता छैन । मूल्यसूचीमा एकरूपता नहुँदा सोझासिधा सेवाग्राही ठगिने गरेको सेवाग्राही ल्हाक्पा शेर्पा बताउँछन् । बजार क्षेत्रमा तीव्ररूपमा खुलिरहेको ग्यारेजका बारेमा अनुगमन नहुँदा मनोमानी हुने गरेको सल्लेरीकै ग्यारेज सञ्चालक राजन श्रेष्ठ स्वीकार गर्छन् । सल्लेरीसहित आसपासका क्षेत्रका ग्यारेजहरूमा एउटै सामग्रीको मूल्य समेत फरकफरक भएको गुनासो आफू कहाँ पनि आएको उनको भनाइ छ ।

सदरमुकामको सल्लेरी बसपार्क लाइनमा सञ्चालित आलम ग्यारेजले एउटा मोटरपार्ट्समा निश्चित मूल्यभन्दा ६० प्रतिशतसम्म बढी असुल्ने गरेको पाइएको छ । चार सयदेखि ४५० रुपैयाँसम्म पर्ने मोटरसाइकलको एउटा पार्ट्सको मूल्य यस ग्यारेजले एक हजार एक सय रुपैयाँसम्म लिने गरेको पाइएको हो । सञ्चालकले मोटर पार्ट्समा प्रिन्ट भएर आएको मूल्यलाई मेटेर तथा कोट्यार फाल्ने गरेका छन् भने सोही सामग्रीको मूल्य तीन दोब्बरसम्म बढी लिने गरेको गुनासो ग्राहकहरूको छ । ग्यारेज सञ्चालक मोति उरर हमान भने आफूले सुरुमा केही महँगो मूल्य भने पनि पछि घटाएर बिक्री गर्ने गरेको बताउँछन् । सामग्री र ज्यालाको सहित जोडेर बढी मूल्य पर्ने भएकाले आफूहरूले बढी लिने गरेको उनको तर्क छ ।

आलम ग्यारेज जस्तै यहाँ सञ्चालित मोटर ग्यारेजहरूले मनोमानी रोक्न प्रशासन निर्मम ढंगले अघि बढ्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए । स्थानीय तह र घरेलु कार्यालयसँग समन्वय गरेर आफूहरू अनुगमनमा निस्कने उनको भनाइ छ । नगर क्षेत्रभित्र सञ्चालित उद्योगधन्दा तथा कलखारखानाको नियमन तथा नियन्त्रण गर्ने दायित्व स्थानीय सरकारकै हो । सोलुदूधकुण्ड नगरपालिकाले ग्यारेजहरूमा बिक्री हुने सामग्रीको मूल्य एकरूपता तथा ग्यारेज व्यवस्थापन गर्न योजना नै बनाएर अघि बढेको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । यस विषयलाई नगरपालिकाले गम्भीररूपले लिएकाले आउँदो कार्तिकबाट सबै समस्याको समाधान गर्ने गरी स्थानीय सरकार अघि बढेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया