Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सीडीएमए फिक्स्ड फोनमा नमस्ते वाईफाई चलाउन सकिने

टेलिकमको सीडीएमए फिक्स्ड फोनमा नमस्ते वाईफाई चलाउन सकिने


काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोनमा आकर्षक अफरसहित नमस्ते वाईफाई र अन्य सुविधा उपलब्ध गराउने भएको छ । टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई फोरजी÷एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको हो । सो प्याकेज भदौ १ गतेदेखि लागू हुने बताइएको छ ।

सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेकाहरूले टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्ने बताइएको छ । ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिकरूपमा पाँच एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँच हजार नौ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार चार सय ९९ रुपैयाँ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि चार हजार नौ सय ९९ र वार्षिक अवधिका लागि नौ हजार चार सय ९९ रुपैयाँ हुनेछ ।

त्यसैगरी अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिकरूपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि आठ हजार नौ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार चार सय ९९ रुपैयाँ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि सात हजार नौ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १५ हजार चार सय ९९ रुपैयाँ हुनेछ । यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीई समेत उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

नयाँ जडानअन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना चार सय मिनेट कम्पनीको नेटवर्कभित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने बताइएको छ । यसरी उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रूपमा उपलब्ध हुने बताइएको छ ।

नेपाल टेलिकमले पहिलेदेखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रूपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ । यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने बताइएको छ । यसअन्तर्गत प्रिपेड ग्राहकलाई मासिकरूपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा छ महिनासम्म उपलब्ध हुनेछ । त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिकरूपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, छ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको जनाएको छ । यसअनुसार टेलिकमले गत २०८० असार मसान्तदेखि लागू हुनेगरी कम्पनीद्वारा सञ्चालित सीडीएमए सेवा बन्द गरेको छ । कम्पनीका अनुसार दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरू सबै जीएसएमअन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । विश्वव्यापीरूपमै सीडीएमए सेवाका प्रयोगकर्ताहरू घट्दै गएको र यो क्रम नेपालमा समेत देखिएको छ ।

प्रविधिको विकासक्रमअनुसार विश्वव्यापीरूपमा फोरजी÷एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेकाले टेलिकमले सीडीएमए सेवाका ग्राहकलाई सोहीअनुसार कभरेज र सेवा विस्तार गरिरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया