Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजुम्लामा एनसेलको फोरजी सेवा

जुम्लामा एनसेलको फोरजी सेवा


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पु¥याएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम जुम्लामा फोरजी सेवा पु-याएको हो ।

एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एकएक गरी तीनवटा नयाँ टावर जडान गरेको छ । मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन् । यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो । एनसेलले चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात् कभरेज पनि कुल जनसंख्याको ९१ दशमलव ३९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको कम्पनीले जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले कम्पनीको ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्तालाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित रहेको बताए । ‘सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं’, उनले भने, ‘हामीले फोरजीलाई उच्च प्राथमिकतामा राखेका छौँ किनभने यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ ।’ आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा तीन सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार चार सय ५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । फोरजी प्रविधिअन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरू प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरू आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरू सजिलै हेर्नलगायतका कामहरू गर्न सक्छन् ।

ग्राहकलाई फोरजीअन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभर एनसेलको चार हजारभन्दा बढी फोरजी टावरहरू सञ्चालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षा पूरा गर्न योगदान पु-याउने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया