Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनीतिगत सुधारपछि मात्रै न्यूनतम पारिश्रमिक लागू गर्न आग्रह

नीतिगत सुधारपछि मात्रै न्यूनतम पारिश्रमिक लागू गर्न आग्रह


काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न नीतिगत सुधार आवश्यक रहेको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गरी नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न सकिने जनाएको हो ।

अर्थतन्त्र मन्दीमा रहेका बेला श्रमिकको पारिश्रमिकलाई दिगो बनाउन तथा उद्यम व्यवसायको विस्तारका लागि नीतिगत सुधार र सुविधा आवश्यक रहेको महासंघको भनाइ छ । ‘श्रम नियमावलीको व्यवस्था एवम् विगतको अभ्यासअनुसार आधारभूत तलबतर्फ ६० प्रतिशत र महँगी भत्तामा ४० प्रतिशत अनुपात हुने गरी मिलाउनुपर्नेछ’, महासंघले भनेको छ, ‘चिया कृषि प्रकृतिको विशेष उद्योग व्यवसाय भएको र चिया उत्पादनको लागतमा ७० प्रतिशत श्रमिकको ज्याला नै हुने भएकाले छिमेकी मुलुकमा कायम भएको चिया श्रमिकको पारिश्रमिक समेतलाई मध्यनजर गरी चिया बगानका लागि हाल निर्धारण भएको न्यूनतम पारिश्रमिकमा पुनः विचार एवम् संशोधन गर्नुपर्ने देखिएको छ ।’

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था भएबमोजिम स्वदेशी उद्योगका उत्पादनलाई आयातित वस्तुभन्दा २० प्रतिशत बढी मूल्य भए पनि खरिद गर्ने व्यवस्थालाई व्यवहारमै कडाइका साथ लागू गर्नुपर्ने महासंघको माग छ । त्यस्तै, मूल्यवृद्धिबाट राहत दिन श्रमिकका लागि खाद्यान्न र अतिआवश्यक उपभोग्य वस्तुका सुपथ मूल्य पसलको व्यवस्था र रासन कार्डको व्यवस्था गर्न पनि माग गरिएको छ । उद्योग व्यवसायको प्रकृति, भौगोलिक क्षेत्रलगायतका विषयलाई आधार मानी न्यूनतम पारिश्रमिक दर निर्धारण गर्ने व्यवस्था लागू गर्नुपर्ने तथा बजारको माग, प्रतिस्पर्धा र आर्थिक स्थितिको कारणले उद्योग सञ्चालनमा समस्या भए त्यस्तो उद्योगलाई बन्द गर्ने प्रक्रियामा सहजीकरण गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि सार्वजनिक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नसकिने बताएको थियो । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १० हजार आठ सय २० र महँगी भत्ता छ हजार चार सय ८० गरी जम्मा १७ हजार तीन सय रुपैयाँ तोकेको छ । त्यस्तै, दैनिक ज्यालादारीका हकमा छ सय ६८ रुपैयाँ र प्रतिघण्टा ज्यालादारीको ८९ रुपैयाँ पारिश्रमिक तोकिएको छ । चिया बगानका श्रमिकका लागि भने मासिक १३ हजार आठ सय ९३ रुपैयाँ, दैनिक पाँच सय रुपैयाँ र प्रतिघण्टा ६६ रुपैयाँ तोकिएको छ ।

यसअघि चिया बगानबाहेकका श्रमिकका लागि मासिक १५ हजार रुपैयाँ, दैनिक पाँच सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ तोकिएको थियो भने चिया बगानका श्रमिकका लागि मासिक १२ हजार ८१ रुपैयाँ, दैनिक चार सय ३५ रुपैयाँ र प्रतिघण्टा ५५ रुपैयाँ तोकिएको थियो । सरकारले तोकको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि रोजगार सम्झौता गर्न पाइँदैन । तर निजी क्षेत्रले नयाँ तोकिएको न्यूनतम पारिश्रमिक लागू गर्न नसकिने बताउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया