Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नाडा अटो सो’मा ४५ ब्राण्डका सवारी प्रदर्शन गरिने

‘नाडा अटो सो’मा ४५ ब्राण्डका सवारी प्रदर्शन गरिने


काठमाडौं । भदौ २६ देखि ३१ गतेसम्म हुने १५ औँ संस्करणको नाडा अटो सोमा ४५ ब्राण्डका सवारी प्रदर्शन गरिने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे र सात वटा ब्राण्डका लाइट कमर्सियल गरी ४५ ब्राण्डका सवारी प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको हो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीमा नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको पनि सहभागिता रहेको बताइएको छ । हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाले जनाएको छ । नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएको छ । यस्तै, प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवालगायतका छुट्टाछुट्टै स्टलहरू रहने प्रदर्शनी आयोजक समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए । यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने बताइएको छ ।

उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी दुई पाङग्रे, चार पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवम् ग्यारेज उपकरणहरूको छुट्टाछुट्टै प्रदर्शन गरिने नाडाले जनाएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावरलगायतका सार्वजनिक पार्किङ स्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गर्ने बताइएको छ । यस्तै एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवम् आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएको छ ।

नाडाका अनुसार भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याकको अफर समेत दिएको छ । छ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ । यस्तै, यस वर्ष कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरेको छ ।

नाडाका अनुसार प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटलजस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया