Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयात्रुविनै काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान

यात्रुविनै काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान


काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुविना नै काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट दिल्ली र हङकङ हवाई उडान सुरु गरेको छ । निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि मंगलबारबाट उडान सुरु गरेको हो ।

सो उडानका लागि निगमले भदौ १० अर्थात् आइतबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरेको थियो । तर दुवै उडानका लागि निगमले यात्रु पाउन सकेन । निगमले साताको एक दिन मंगलबार नियमितरूपमा सो विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर दिल्ली र हङकङमा उडान भर्नेगरी कार्यकालिका सार्वजनिक गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार निगमको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने गरेको र सोही विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । पहिलो उडानमा कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए ।

निगमका अनुसार हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पु-याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था निगमले मिलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले सो उडान सुरु गर्ने निर्णय गरेको थियो ।

यस्तै, निगमले मलेसिया–भैरहवा रुटमा भने गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया