Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसौराहामा ‘सिद्धार्थ भिलासा बन्बास’को तयारी

सौराहामा ‘सिद्धार्थ भिलासा बन्बास’को तयारी


काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले दशैँ अगाडि नै सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् । रिसोर्ट चार बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती समेत देख्न सकिने रिसोर्टले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायतका गतिविधि पनि गराउने बताइएको छ । रिसोर्टमा स्विमिङ पुल, मसाजसहितको स्पा पनि रहने रिसोर्टले जनाएको छ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए । लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ । यसअघि ग्रुपले भैरहवामा साढे दुई अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको थियो ।

भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए । ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ’सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।

बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यही ग्रुपअन्तर्गतकोे होटल हो । बुटवल, नेपालगञ्ज, तिनकुने, घोबीघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा दुई वटा तथा तीनकुने र नेपालगञ्जमा एक–एक वटा गरी चार वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा दुई हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया