Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगब्याज र घरभाडा छुट दिन बाँकेका व्यवसायीहरुको माग

ब्याज र घरभाडा छुट दिन बाँकेका व्यवसायीहरुको माग


बाँके, वैशाख २१
बाँकेमा लकडाउनका कारण धराशायी भएको औद्योगिक, व्यावसायिक क्षेत्रले सरकारसँग राहत माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण उद्योगी, व्यवसायीहरुमा पर्न गएको प्रभावका सम्बन्धमा सरकारसँग राहत प्याकेज माग गरेको हो ।

‘बन्द भएका उद्योगहरु र व्यावसायिक फर्महरुलाई बन्दाबन्दी लकडाउनको समयमा हुन आउने २०७६ चैत्र महिनादेखि २०७७ असार मसान्तसम्म बैंक ब्याज मिनाहा गर्न, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि ३० प्रतिशत पुनर्कर्जा व्यवस्था गर्न र किस्ताको रुपमा चल्ने ऋणलाई व्यवसायीको मागअनुसार पुनर्तालिकीकरण गर्नुपर्ने’ माग गर्ने निर्णय गरेको हो । संघका महासचिव चिरञ्जीवी ओलीले बैठकले साना व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६÷०७७ को आयकरमा ५० प्रतिशत, स्थानीय निकायले लिने व्यावसायिक करमा ५० प्रतिशत र घर बहाल करमा शतप्रतिशत छुट दिनुपर्ने माग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

विद्युत् कार्यालयले उद्योगहरुमा डिमाण्ड शुल्कबापत लिने शुल्कमा शतप्रतिशत र आम नागरिकको हकमा ५० प्रतिशत मिनाहा गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय बैठकले गरेको महासचिव ओलीले जानकारी दिए । अत्यावश्यकीय र उत्पादनमूलक उद्योगहरु छिटोभन्दा छिटो सञ्चालन गराउन सरकारको तर्फबाट सहज वातावरण मिलाउनुपर्ने महासचिव ओलीले जानकारी दिए ।

खुल्ला सीमाका कारण कोरोना भाइरस भित्रिनसक्ने उच्च जोखिम यथावत् भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढावा दिने गरी सम्बन्धित निकायहरुले उत्पादन, बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै लैजानुपर्ने र हालकै अवस्थामा सीमा नाका अझ कडाइका साथ बन्द गर्नका लागि दबाब दिने निर्णय भएको उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघको बैठकले बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइरहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीलाई अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री वितरण नगर्न, नगराउन आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x