Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१६ औँ योजनाका लागि परिसंघको सुझाव

१६ औँ योजनाका लागि परिसंघको सुझाव


काठमाडौं । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ । परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै यस्तो सुझाव दिएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आइतबार प्रतिवेदनसहितको सुझाव आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ छ । यसैगरी गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवर्द्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नुपर्ने र रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न परिसंघले सुझाव दिएको छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित बनाउन खोजिएको बताए । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनको भनाइ थियो । नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औं योजना तर्जुमा गर्दा परिसंघले मेहेनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने उनले बताए । योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको परिसंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया