Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग प्रतिष्ठानका प्राविधिकलाई तालिम

उद्योग प्रतिष्ठानका प्राविधिकलाई तालिम


विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकलाई तालिम दिएको छ । वकर्स फरदर ट्रेनिङअन्तर्गत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ २५ दिने इन्डस्ट्रियल अटोमेसन तालिम सम्पन्न गरेको संगठनले जनाएको छ ।

तालिमको समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पुँजी, प्रविधिका साथसाथै श्रमिकको दक्षता विकास समानान्तररूपमा हुनुपर्ने बताए । परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यावसायिक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्न सके उद्योगको उत्पादकत्व अभिवृद्धि हुने उनको भनाइ थियो । प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई संबोधन गर्न उद्योग संगठन मोरङले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्ने उनले जानकारी दिए । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दै आएको कार्यलाई थप परिष्कृतरूपमा गर्न यस प्रकारको तालिमले सहयोग पु-याउने बताए । यस्तै, प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन उनले जोड दिएका थिए ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई सत्रमा विभाजित तालिम २५ दिनसम्म सञ्चालन भएको थियो । यस्तै, तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको संगठनले जनाएको छ । तालिममा डिजिटल पावर इलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेसन, पीएलसी, भीएफडी, सेन्सर, सर्भो सिस्टमलगायतका विषय समेटिएको उद्योग संगठन मोरङले जानकारी दिएको छ । त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आइतबारदेखि पुुनः २५ दिने इन्स्ट्रमेन्टेसन तालिम पनि प्रारम्भ गरेको छ । तालिममा विभिन्न उद्योगका बीस जना प्राविधिकको सहभागिता रहेको छ । आगामी दिनमा उद्योगको मागअनुरूप वोइलर अपरेटर, प्लासिटक इन्जेक्सन मोल्डिङ अपरेटर तालिमको आयोजना संगठनले गर्ने तयारी भइरहेको संगठनका अध्यक्ष सुरानाले जानकारी दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया