Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउनले रोकिएको सडक कालोपत्रे सुरु

लकडाउनले रोकिएको सडक कालोपत्रे सुरु


सुबास बस्नेत
दोलखा, वैशाख २३
लकडाउनले प्रभावित बनेका केही महत्वपूर्ण सडक आयोजनाको काम सुरु भएका छन् । चरीकोट–जिरी सडक खण्डको काम अहिले लकडाउनको समयमा पनि निरन्तर भइरहेको छ। जिल्लाको महत्वपूर्ण आयोजनाको रूपमा रहेको राजधानीदेखि दोलखा जोड्ने सडक खाडिचौर–चरीकोट सडक खण्ड र सदरमुकामदेखि जिरी जोड्ने चरीकोट–जिरी सडकखण्डको कालोपत्रको काम सुरु भएको हो ।

चरीकोट–जिरी सडकखण्ड अन्तर्गतको चरीकोटदेखि तामाकोशी बजारसम्मको १७ किलोमिटर सडकको कालोपत्र सुरु भएको आयोजनाले जनाएको छ । उक्त सडकको चैत दोस्रो सातादेखि कालोपत्रे गर्ने तयारी भएको थियो तर कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण एक महिनादेखि प्रभावित बनेको थियो ।

१७ किलोमिटर सडक असारसम्ममा कालोपत्र गरिसक्ने उद्देश्यसहित काम सुरु गरिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ । उक्त सडक विस्तारका सुपरभाइजर प्रकाश भण्डारीका अनुसार अहिले करिब डेढ सय कामदारले निर्माण र कालोपत्रको काम गरिरहेका छन् ।

उनका अनुसार आयोजनाले चैत १५ गतेदेखि चरीकोट–तामाकोशी सडकको कालोपत्र गर्ने तयारी गरेर पहिलो तथा दोस्रो बेसको काम सकी ग्राभेल बिछ्याउने काम गरिरहेको थियो । असारसम्ममा काम सक्ने गरी तयारी थालिए पनि लकडाउनले काम रोकिँदा समस्या भएको उनले बताए । आवश्यक निर्माण सामग्रीहरु सडकमा जम्मा गरेर गत वैशाख १५ गतेदेखि सडकको कालोपत्रको काम सुरु गरेको भण्डारीले बताए ।

स्वास्थ्य सुरक्षात्मक उपाय अपनाएर सडक विस्तारको काम सुरु गरेको उनले बताए । एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण लगानीमा उक्त सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारको काम भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले दुई अर्ब २८ करोडमा जिम्मा लिएको छ ।

गत वर्षको पुसमा निर्माण जिम्मा लिएको कम्पनीले हालसम्म यस खण्डमा ९ किलोमिटरमा ग्रेडिङ गरिएको छ भने करिब ८ किलोमिटर सडकमा तीन वटा बेसको ग्राभेल बिछ्याएर कालोपत्रेको सुरु गरिएको लामा कन्स्ट्रक्सनले जनाएको छ । लामोसाँघु–जिरी सडक ३५ वर्षअघि स्विस सरकारले निर्माण गरेको सडक हो ।

यता गत पाँच वर्षदेखि अलपत्र परेको खाडिचौर–मुडे–चरीकोट सडकखण्ड विस्तारको काम पनि आंशिक रूपमा सुरु भएको छ । आयोजनाको निर्माण कार्य पटकपटक रोकिँदै आएको थियो । आयोजनाको कामका लागि निर्माण सामग्री ढुवानी, व्यवस्थापनसहित एक साता अघिदेखि काम सुरु गरेको खाडिचौर–मुडे–चरीकोट सडक विस्तार आयोजना प्रमुख दीप बराईले जानकारी दिए ।

आयोजना प्रमुख बराईका अनुसार वर्षाको समय सुरु हुन लागेकाले सडक साइटमा रहेका आवश्यक मजदुरको प्रयोगमा पहिलो प्याकेजको रोकिएकै स्थानबाट पुनः कालोपत्रेका काम सुरु गरिएको छ । अहिले पहिलो प्याकेजको २० किलोमिटर कालोपत्रे भइसकेको छ भने २२ किलोमिटरसम्म बेस बिछ्याएको छ । सडकको पुरानो डिजाइनअनुसारको परिमाणको काम सकिन लागेकाले भेरिएसनका लागि मन्त्रालयमा छलफलको क्रममा रहेको उनले बताए । आयोजनाका अनुसार पहिलो प्याकेजको काम २५ किलोमिटर सडक विस्तार रहेको छ ।

त्यस्तै एक वर्षयता समस्याको रुपमा रहेको दोस्रो प्याकेजको मुडेदेखि चरीकोटसम्मको ३० किलोमिटर सडकको पनि कालोपत्रे तयारी भइरहेको छ । उपलब्ध मजदुरबाट बेस र सबबेस क्षति भएका ठाउँमा काम जारी रहेको आयोजनाले जनाएको छ । दोस्रो प्याकेजमा लकडाउनको समयमा समेत काम जारी थियो । दोस्रो प्याकेजको ठेक्का पाएको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीका आधिकारिक प्रतिनिधि दिपक सापकोटाले कालोपत्रेका लागि इक्विप्मेन्ट व्यवस्थापन गरी केही दिनमै कालोपत्रे सुरु गर्ने तयारी भएको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x